नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सम्बन्धि असमान व्यवस्था हटाउन सहमत भएको छ । बैठकमा जलविद्युत, सन् १९५० को शान्ति तथा मैत्री सन्धि एवं दुई पक्षीय व्यापारका विषयमा छलफल भएको हो ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको इपिजीको बैठकमा नेपालले उठाउँदै आएको १९५० को सन्धिका असमान व्यवस्था हटाउन भारतीय पक्ष सकारात्मक भएको हो । तत्कालीन राणा प्रधानमन्त्री मोहन समशेरले भारतसँग शान्ति तथा मैत्री सन्धि गरेका थिए ।
सन्धिका प्रायः सबै धारामा नेपालका राजनीतिक दलले असन्तुष्टि जनाउँदै आएका छन् । सन्धिमा तत्कालीन नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंह ( सीपीएन सिंह) ले हस्ताक्षर गरेका थिए । यो हस्ताक्षर पनि असमान भएको भएको नेपाल पक्षको ठहर छ ।
बुधबारबाट शुरू भएको तेस्रो बैठकमा दुवै देशका चार÷चार प्रतिनिधि सहभागी छन् ।
गत असारमा काठमाडौंमा सम्पन्न इपिजीको पहिलो बैठकमै सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलाई छलफलका लागि प्रवेश गराइएको थियो ।
त्यसैको आधारमा भारतमा कात्तिक तेस्रो साता सम्पन्न इपिजीको दोस्रो बैठकमा नेपालले उक्त सन्धिलाई महत्वका साथ उठाइएको थियो । हतियार खरिद, कुटनीतिक क्षेत्रमा प्रभावित पार्ने यस सन्धिको नेपालमा विरोध हुँदै आएको छ ।