आगामी बैशाख ३ गतेदेखि नेपाली सेना र चिनियाँ सेनाबिच संयुक्त सैन्य तालिम सुरु हुने भएको छ ।
पहिलो पटक नेपालमा दुई देशबिचका सेनाहरुवीच ‘विशेष फौज संयुक्त सैन्य’ तालिम हुन लागेको हो । तालिम बैशाख ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने सैनिक जनसंम्पर्क निर्देशनलयले जानकारी दिएको छ ।छिमेकी तथा अन्य मित्रराष्ट्रका सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरुलाई निरन्तरता दिने क्रममा यसपटक चीनका सेनासंग संयुक्त सैन्य तालिम सञ्चालन गर्न लागिएको निर्देशनालयले बताएको छ ।
विश्वमा अहिले गम्भीर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गईरहेको आतंकवादबाट भविश्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त अभ्यास गर्न लागिएको निर्देशनलायले प्रष्ट पारेको छ ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा यो तालिमको आयोजना गरिएको हो ।
तालिमबाट आफ्नो ज्ञान, सीप तथा अनुभवहरु आदान-प्रदान गरी पेशागत क्षमता अभिबृद्धि गर्न मदत पुग्ने र दुई देशबीचको कुटनैतिक सम्बन्ध अझ मजबुद हुने विश्वास समेत लिइएको छ ।