राजसंस्था र हिन्दू धर्मको एजेण्डा उठाउन किन पाइँदैन ? भन्दै राणाले दिए कडा चेतावनी

राजसंस्था र हिन्दू धर्मको एजेण्डा उठाउन किन पाइँदैन ? भन्दै राणाले  दिए कडा चेतावनी
समाचार

वैशाख–राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफूहरुको विधानबाट हिन्दू राज्य र संवैधानिक राजतन्त्र शब्द हटाउने निर्णय नसच्चिए आफ्नो सरकारबाटै हट्न नसक्ने चेतावनी दिएका छन् ।

नयाँ वर्ष २०७४ का अवसरमा शुक्रबार राजधानीमा सञ्चारकर्मीका लागि आयोजित लञ्च पार्टीमा राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई त्यसमा गम्भीर हुन आग्रह गरे । निर्वाचन आयोगले राजसंस्था र हिन्दू धर्मसम्बन्धी पार्टीको एजेण्डा विधानबाट हटाउने निर्णय नसच्याए राप्रपा सरकारबाटै बाहिरिएर सडक र सदनमार्फत आन्दोलनमा उत्रने चेतावनी उनले दिए ।

राप्रपाले विगतदेखि अवलम्बन गर्दै आएको एजेण्डा विधानबाट हटाउने अधिकार निर्वाचन आयोगलाई नरहेको भन्दै नेता राणाले आयोग आफ्नो निर्णयमा अडिग रहे सरकारबाटै बाहिरिन बाध्य हुने उल्लेख गरे । ‘संविधानमै नेपाललाई समाजवादतर्फ उन्मुख मुलुक भन्न मिल्छ भने राजसंस्था र हिन्दू धर्मको एजेण्डा उठाउन किन पाइँदैन ?’, राणाले भने, ‘निर्वाचन आयोगले आफ्नो निर्णयमा छिट्टै पुनिर्वचार गर्नेमा हामी विश्वास्त छौं ।’ पूर्वनिर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिँदै उनले मधेसलाई बाहिर राखेर हुने निर्वाचनको औचित्य नहरेको स्पष्ट गरे । सरकार मधेसका माग सम्बोधन गर्ने विषयमा गम्भीर नरहेको आरोप उनले लगाए ।

फरक प्रसंगमा राणाले सरकारले भूकम्पपिछको पुनर्निर्माणको काममा ढिलाइ गरेको गरेको भन्दै आपत्ति जनाए । १९९० सालको महाभूकम्पपछि तत्कालीन राणा प्रधानमन्त्री तथा आफ्ना जिजुबाजे जुद्धशमशेरले विदेशीसँग एक रुपैयाँ सहयोग नलिई समयमै राउत तथा उद्धारको काम गरेको चर्चा गर्दै राणाले अहिलेको सरकारले त्यसमा असफल भएको टिप्पणी गरे । भूकम्पपीडितले दुईवटा वर्षात पालमुनि बिताइसकेको र अर्को वर्षातसमेत आउन लागेको भन्दै उनले यसमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

Post Comment