निर्वाचन बिथोल्न मोर्चाको आन्दोलन , आमहड्तालको घोषणा

निर्वाचन बिथोल्न मोर्चाको आन्दोलन , आमहड्तालको घोषणा
समाचार

युक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आवद्ध रहेको संघीय गठबन्धनले अनिश्चितकालीन आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको छ ।

कार्यक्रमअनुसार वैशाखको १६ गते नेपाल बन्द र वैशाखको २७ गतेदेखि आमहड्ताल एवम् अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी रहेका बेला मोर्चा र गठबन्धनले सहमति उल्लंघन भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचन विथोल्न संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । उनले सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहालले चैतको २९ गते संविधान संशोधनको नयाँ विधेयक दर्ता गराएको भन्दै आपत्ति जनाए ।

संविधान संशोधन विना गरिने कुनै पनि निर्वाचन मोर्चा र गठबन्धनलाई अस्विकार्य रहेको बताए ।

अध्यक्ष यादवले स्थानीय तहको निर्वाचनमा नेपाली सेना प्रयोगको विषयमा कडा अपात्ति पनि जनाएका छन् । ‘निरंकुश शासनमा पनि सेनाको प्रयोग हुँदैन’, उनले भने, ‘नागरिकसँग सेनालाई जोड्ने काम गणतन्त्रमा कहाँबाट आयो ?’

पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अनुपस्थित थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

आन्दोलन सम्बन्धी कार्यक्रमहरू :

१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश

२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी/सिटी जुलूश

३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा

४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा

५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा

६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा

७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन

८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश

९. २०७४ बैशाख १५ गते – मधेश/थरुहट र लिम्बूवान बन्द

१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द

११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन

१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन

१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द

१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने/गराउने ।

Post Comment