भारतको पाँच दिने राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेकी छन् । नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् । यद्यपि, नेपालको राष्ट्र प्रमुखलाई राज्यमन्त्रीले स्वागत गरिन् । त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए ।
इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरिन् । राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भण्डारी भारत भ्रमणमा गएकी हुन् ।
नेपालका कार्यकारी र राष्ट्रप्रमुखको भ्रमणको हकमा भारतले कुटनीतिक मर्यादाको विषयलाई नजरअन्दाज गर्ने गरेको भन्दै चर्को आलोचना भएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।
त्यसपछि भारत भ्रमणमा गएको प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भारतीय विदेश मन्त्रीले स्वागत गरेकी थिइन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगेर स्वागत गरेका थिए । नेपालको कुटनीतिक मर्यादा कजोर भएको प्रश्न उठेपनि कसैले वास्ता गरेका छैनन् ।
राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा गार्डअफ अनर दिइने बताइएको छ । भारत बसाइका क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् ।