संशोधन पास गरेर चुनावमा जान मोर्चा सहमत

संशोधन पास गरेर चुनावमा जान मोर्चा सहमत
समाचार

वैशाख ३१ गते हुने निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरेको मधेशी मोर्चा र संघीय गठबन्धन निर्वाचनमा जान सहमत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ बसेको बैठकमा संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गरेर चुनावमा जान मोर्चा सहमत भएको हो ।

प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा सत्तारुढ नेपाली काग्रेस सहित हिजो एकीकरण भएको राष्ट्रिय जनता पार्टीका शीर्ष नेता सहभागि थिए । परिमार्जन सहित संविधान संशोधन विधेयक पारित गरेर मोर्चा चुनावमा जाने सहमति भएको नेताहरुले बताएका छन् ।

शुक्रवार बिहान बसेको बैठकमा मोर्चाले संशोधन पारित भए चुनावमा जाने संकेत दिएको थियो । शनिवार पुनः छलफल गरी सहमतिको खाका तयार गरिने नेताहरुले जनाएका छन् । मोर्चासँगको आजको बैठक निकै सकारात्मक र उत्साहवद्र्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए ।

सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागी थिए ।

Post Comment