जग्गाधनीलाई अपहरण गरी करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकीय सचिव राजु आचार्य उर्फ अग्नि र दुई जना पत्रकार पनि तानिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले माओवादी नेता आचार्य तथा पत्रकारहरु पुजन घिमिरे र शम्भु दाहाललाई फरार सूचीमा राखेर खोजीरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले विर्तामोडको चर्चित अपहरण काण्डको घटनाबारे सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी चार जना मुख्य अभियुक्त सार्वजनिक पनि गरेको थियो ।
अपहरण अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका आचार्य मन्त्री कार्कीको संरक्षणमा कामाठण्डुमा खुलेआम हिँडडुल गरिरहेका छन् । सञ्चार मन्त्रालय स्रोतका अनुसार उनी मन्त्रालयमै आउजाउ गरिरहेका छन् । थप दुई अभियुक्त पत्रकारहरुमा सगरमाथा टेलिभिजनका संवाददाता पुजन घिमिरे र स्थानीय अनलाइनका शम्भु दाहाल रहेका छन् ।
घटनाका मुख्य अभियुक्तसहित ५ जना अझै फरार रहेको झापाका एसपी शैलेस थापाले जानकारी दिए । उनले अभियुक्तको नेपाल र भारतका प्रहरीमा समेत समन्वय गरेर खोजी भइरहेको हुनाले चाँडै पक्राउ पर्ने बताए ।
गएको असार १९ गते घिमिरेले बिष्टको स्वामित्वमा रहेको त्यो जमिनमा होटल गर्ने प्रायोजनका लागि भाडामा लिएका थिए । शुरुमा ५ वर्षका लागि जमिन भाडामा लिँदा बिष्टको नागरिकतामा समस्या भएको पत्ता लागेपछि उनले फेरि अर्काे ५ वर्षको लागि भाडामा लिन कागज गर्ने भन्दै बोलाएका थिए । त्यही समयमा घिमिरेले विर्तामोडकै ओम शिवाकोटीको सहयोगमा बिष्टलाई अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा पुर्याए ।
‘त्यो होटलमा बन्धक बनाएपछि उनले अरु अभियूक्तलाई सम्पर्क गरेको पाइएको छ’, एसपी थापाले भने, ‘बिष्टलाई माघ ११ गते नियन्त्रणमा लिएपछि जग्गा पास गर्न आवश्यक पर्ने कागजात लिएर पेस्तोल देखाएर धम्की दिंदै १२ गते भारततर्फ खेदाएको खुलेको छ ।’
‘बिष्टलाई खेदाएपछि मेचीनगरकै राजु कुँवरको फोटो उनको नागरिकतामा टाँसेर माघ १९ गते जग्गा पास भएको देखिन्छ’, थापाले भने, ‘मालपोत कार्यालयले त्यो बेला बैधानिक रुपमै डोर गएको भन्ने सूचना आएको छ, अध्ययनपछि विस्तृत सार्वजनिक गर्छौं ।’
बिर्तामोड ५ मा बस्दै आएका टेलिभिजन पत्रकार पुजन घिमिरे घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । घिमिरेले शनिश्चरे ९ घर भएका जीवन बिष्टलाई अपहरण गरी भद्रपुर रोडको करोडौं मुल्य पर्ने ५ कठ्ठा १६ धुर जग्गा हत्याएका थिए । घिमिरेसहितका अभियुक्तहरुको टोलीले बिष्टलाई बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा बन्धक बनाएर पेस्तोल देखाउँदै जवरजस्ती जग्गा पास गराएका थिए ।