हिन्दु राज्यको माग गर्दै स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने कांग्रेसको घोषणा (बिज्ञप्ती सहित)

हिन्दु राज्यको माग गर्दै  स्थानिय तहको निर्वाचन बहिस्कार गर्ने कांग्रेसको घोषणा (बिज्ञप्ती सहित)
समाचार

नेपाल समाजवादी कांग्रेसले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले समाजलाई विखण्डन गर्ने संघीयवादी स्थानीय निर्वाचनलाई बहिष्कार गर्ने निर्णय सुनाएको हो । ‘राज्यलाई नियन्त्रण गर्ने र समाजलाई विखण्डित गर्ने संघीयता र गणतन्त्र हामीलाई स्वीकार्य छैन्,’ पत्रकार सम्मेलनमा समाजवादी कांग्रेसका महासचिव गोविन्द निरौलाले भने– ‘नेपालको आवश्यकता संवैधानिक प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापना हो । तसर्थ हामीहरु स्थानीय निर्वाचनलाई बहिष्कार गर्दछौं ।’

नेता निरौलाले २०६३ देखि नेपालमा अधिनायक सामान्तवाद उदाएको भन्दै २०७२ सालको संविधानले त्यसलाई संस्थागत गरेको टिप्पणी गरे । ‘यो देशको हितमा छैन् । समाज विखण्डन गर्ने पश्चिमा मुलुकको ग्राण्ड डिजाइन हो,’ उनले भने– ‘हामीलाई यो स्वीकार्य छैन् ।’

उनले आगामी वैशाख ३१ मा हुन लागेको चुनाव सत्ता पक्षको मात्रै भएको भन्दै भने– ‘यो सत्ता पक्षको चुनाव हो । मल्टीपार्टी सिस्टममा दलहरुलाई चुनाव चिन्ह नदिने कदमले यसलाई पुष्ट्याउँछ । यदि देशमा बहुदल छ भने निर्वाचन आयोगमा दर्ता भएका सबै दलले चुनाव चिन्ह पाउनुपर्छ ।’

पत्रकार सम्मेलनपछि समाजवादी कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘स्थानीय निर्वाचनको माध्यमबाट राज्यलाई गृहयुद्धमा फसाउने काम गरिरहेको छ नेपालको वर्तमान सरकारले । राज्य संरचनाको प्रक्रियाबाट स्थानीय तहका राजनीतिककर्मीहरुको अस्तित्व समाप्ति गरिएको छ ।’

अगाडि भनिएको छ– ‘गाउँको अधिकार खोसेर केन्द्रलाई दुर्गम बनाउने कार्यले सरकारको योजना जनताको विरुद्धमा छ । नागरिकहरुलाई सुविधा दिने हो भने गाउँलाई अधिकार र जनतालाई विकास दिनु पर्दछ ।’

Post Comment