पहिलो चरणमा स्थानीय निर्वाचन भएका २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा महिला कतिजना प्रमुख निर्वाचित होलान् ? भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् ।
पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् । पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडामा पुरुषबीच नै प्रतिस्पर्धा भइरहेको छ ।
९२ नगरपालिकामध्ये मेयर जित्ने महिला तीनजनामात्र भएका छन् । पुरुषसँग प्रतिस्पर्धा गरेर मेयर जित्ने महिलामा जुम्ला चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल, नवलपरासी कावासोती नगरपालिकाकी चन्द्रा पुन र स्याङ्जा पुतलीबजारकी सीमी क्षेत्री हुन् । यी मध्ये चन्द्रा पुन र सीमा क्षेत्री एमालेका हुन् भने कान्तिका सेजुवाल कांग्रेसकी हुन् । मेयरको प्रतिस्पर्धामा रहेका केही महिलाहरु बिजयी हुन सकेनन् ।