दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा डोटीमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल डोटीबीच पार्टी एकता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य बिरवहादुर थापा सहितका कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार अवेरसम्म सञ्चालन भएको पार्टी एकता तथा प्रवेश कार्यक्रमवाट दुई पार्टीका जिल्ला कमिटीहरु एक भएको घोषणा गरिएको छ ।
नयाँ शक्तिका जिल्ला संयोजक शिव सिंह ओलीको नेतृत्वमा सिंगै जिल्ला कार्यसमिति माओवादी केन्द्रमा एकीकरण भएको हो । माओवादी केन्द्र ७ नम्बर प्रदेश संयोजक लेखराज भट्ट र नयाँ शक्तिका जिल्ला संयोजक ओलीले संयुक्त रुपमा जिल्ला पार्टी एकता भएको घोषणा गरेका थिए ।
माओवादी केन्द्रभित्रको चरम असहमतिपछि गत पुस २ गते संयोजक ओलीको नेतृत्वमा ३१ जना माओवादी नेता कार्यकर्ताहरु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेका थिए । त्यसयता माओवादीलाई जिल्लामा कमजोर भएको आकंलन गरिएको थियो ।
बिहीबारको एकतापछि नयाँ शक्ति नेपाल पार्टी डोटीमा शून्य भएको माओवादी नेताहरुको दावी छ । माओवादी केन्द्रका डोटी जिल्ला ईञ्चार्ज त्रिलोचन भट्टले बिगत लामो समयदेखि चल्दै आएको पार्टी एकता प्रयासले सार्थकर्ता पाएको बताए ।
बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गर्दा डोटीमा जिल्ला समिति निर्माण गर्ने तत्कालीन माओवादी नेता मोहन बम लगायतको टोली यसअघि नै नेकपा एमालेमा प्रवेश गरिसकेको छ ।
यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य एवम् अखिल क्रान्तिकारीका डोटी जिल्ला अध्यक्ष बिरबहादुर थापा लगायतका कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
खोक्रा भाषण र नाराले समाज रुपान्तरण नहुने भएकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको थापाले बताए ।