‘राजपालाई बाहिर राखेर कसरी चुनाव हुँदो रहेछ हेरौं’-नेता झा

‘राजपालाई बाहिर राखेर कसरी चुनाव हुँदो रहेछ हेरौं’-नेता झा
समाचार

सिंहदरबारमा भएको सत्तारुढ दलहरुसँगको बैठक निष्कर्षहिन भएपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता अनिल झाले अब आफूहरु आन्दोलनमा जानुको कुनै विकल्प नभएको बताएका छन् । हिजोको जस्तै आजको बैठकमा पनि सत्तारुढ दलका नेताहरु राजपाका मागमा निरिह देखिएको आरोप उनको छ ।

बैठकपछि नेता झाले भने, ‘राजपालाई बाहिर राखेर कसरी चुनाव हुँदो रहेछ हेरौं ।’
बैठकमा आफुहरुले स्थानीय तहको संख्या बढाउने, संविधान संसोधन गर्ने र हाम्रा कार्यकर्तालाई लगाएका मुद्दा फिर्ता लिने विषयमा सत्तारुढ दलहरुलाई आग्रह गर्दा उनीहरु निरिह देखिएको भनाइ उनको थियो । उनले भने, ‘त्यसैले अब हामीहरु छिटै बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्छौ ।’
बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार गठबन्धनका नेताहरुले अत्यन्तै लचिलो भएर राजपालाई चुनावमा ल्याउन राजनीतिक दल सम्बन्धी स्थानीय निर्वाचन ऐन संसोधनको कुरा अघि बढाउने जानकारी दिएको बताए । नेता श्रेष्ठले भने, ‘उहाँहरुलाई चुनावमा ल्याउनका लागि गर्न सकिने सबै कुराहरुमा छलफल भएको छ। तर उहाँहरुको मनस्थिति हेर्दा चुनावमा आउन चाहे जस्तो देखिएन ।’
स्थानीय तहको संख्याको विषय अदालतमा रहेकाले दलहरु यसमा विवश भएको कुरा पनि बैठकमा राखिएको भनाइ नेता श्रेष्ठको थियो ।
उता, कांग्रेस नेता रामचन्द्र पौडेलले भने बैठकमा राजपा नेताहरुले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय कार्यान्वयनका लागि सर्वोच्चमा भ्याकेट हाल्न माग गरेको बताएका थिए ।
बैठकमा जे विषयमा छलफल भए पनि पछिल्लो र निर्णायक भनिएको वार्ता असफल भएपछि नेपाली राजनीतिको चुनावी प्रसङ्ग अझै पेचिलो बनेको छ ।

Post Comment