राष्ट्रिय जनता पार्टी नेपालका समर्थकहरूले बारा जिल्लामा मतदान अधिकृत सहित तीन जना कर्मचारीलाई कुटपिट गरेका छन् । कुटपिटबाट मतदान अधिकृतसहितका कर्मचारी घाइते भएका छन् ।
भरत चोक–कलैया अस्पताल सडकखण्ड अन्तर्गत राष्ट्रिय जनता पार्टी कार्यालयको अगाडि तीन जना मतदान अधिकृत कुटिएको बारा प्रहरीले जनाएको छ ।
निर्वाचन कार्यालयले संचालन गरेको निर्वाचन सम्बन्धि तालिममा सहभागी भएर कलैयाबाट जाने क्रममा मतदान अधिकृत डा विशेश्वर प्रसाद यादव, शंकर श्रेष्ठ र बाबुलाल सहनीलाई राजपा नेपालका नेता तथा कार्यकर्ताले कुटपिट गरेका हुन् ।
कृषि अनुसन्धान कार्यालय केन्द्र परवानीपुरका उपसचिव समेत रहेका डा.विशेश्वरप्रसाद यादव, उखु अनुसन्धान केन्द्रका प्राविधिक रहेका अधिकृत शंङ्कर श्रेष्ठलाई कुटपिट गरी घाइते बनाएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए ।
निर्वाचनमा खटेका कर्मचारीहरूलाई कुटपिट गरेर राजपा नेपालका कार्यकर्ताले गाडीमा तोडफोड गरेका छन् । कुटपिट र तोडफोडमा संलग्न पन्नालाल पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
जनस्वास्थ्य कार्यालय बाराका खोप सुपरभाईजर बाबुलाल सहनीलाई कपडा च्याती कुटपिट भएको छ ।