प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस् ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनको विपक्षमा कसैले पनि कुरा गर्न नहुने बताएका हुन् । यादवले भने, ‘मुलुक निर्वाचनमा गैसकेको छ, २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्चपनि ब्याक हुँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ ।’ यादवले चुनावको मुखमा आएर निर्वाचनको विपक्षमा कुनै कुरा नगर्न चेतावनी दिएका छन् । उनले भने, ‘आयोग चुनावमा होमिसकेको छ ।’
सबै जिल्लामा निर्वाचन सामाग्री पुर्याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको जानकारी गराउँदै यादवले भने– ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, हामीले संबेदनशिलताको आधारमा अनुगमन टोलि खटाएका छौं, असार १४ गतेको निर्वाचन मिति सार्ने भन्ने कुरा हल्लामात्रै हो, २ र ५ नम्बर प्रदेश को निर्वाचन सर्ने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन, यी सबै अनुमानका कुराहरु मात्रै हुन् ।’