निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउनमा सरकार गम्भीर :-गृहमन्त्री जनार्दन शर्मा

निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउनमा सरकार गम्भीर :-गृहमन्त्री जनार्दन शर्मा
समाचार

गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । दोस्रो चरण्मा निर्वाचन हुने सबै प्रदेशका मतदान स्थल र मतदान केन्द्रहरुमा निर्वाचनको लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको भन्दै उनले ढुक्क भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

प्रेस सेन्टर नेपाल रुकुम शाखाले आइतबार विहान सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र भयरहित बनाउनमा सरकार गम्भीर भएर लागिरहेको बताए । ‘लामो समयपछि हुन थालेको स्थानीय तह निर्वाचन शान्तिपूर्ण नै हुन्छ,’ उनले भने, ‘जनताले शान्तिपूर्ण वातावरणमा उत्साहपूर्ण तरिकाले मतदान गर्न पाउनेमा सरकार विश्वस्त छ, त्यो वातावरण बनिसकेको पनि छ ।’

पहिलो चरणको निर्वाचनको जस्तै उत्साहपूर्ण सहभागिताका लागि मतदाता आतुर भएको भन्दै उनले निर्वाचन र मतदानका लागि तयार हुन सबै सरोकारवालालाई आग्रह गरे ।

राजनीतिक, प्राविधिक र व्यवहारीक कारणले २ नम्बर प्रदेशको निर्वाचन असोज २ गतेका लागि सारिएको उनको भनाइ छ । २ नम्बर प्रदेशमा रहेका राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउनै पर्ने भएकाले पनि असोज २ मा उक्त प्रदेशको निर्वाचन गर्ने निर्णय भएको उनले बताए ।

निर्वाचनमा सहभागी हुने दल दर्ता, हस्ताक्षर बुझाउने, चुनाव चिन्ह दिनेलगायतका प्राविधिक काम मिलाउन ऐन संशोधन भइरहेकाले पनि २ नम्बर प्रदेशको चुनाव पछि सार्नु परेको शर्माले प्रस्ट पारे । ‘भदौ अन्तिमसम्म वर्षा जारी रहने भएकाले पनि असोज २ मा निर्वाचन गर्ने निर्णयमा सबै सहमत भएको अवस्था हो’उनले भने

 

Post Comment