सुडान घोटाला काण्डमा दोषी ठहर भई सजायँ पाएर फरार रहेका नेपाल प्रहरीका आईजीपी, एआईजी र डीआईजीले आत्मसमर्पण गरेका छन् ।
सुडान काण्डमा डामिएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम गुरुङ, एआईजी दिपकसिंह थाँग्देन र डीआइजी दिपक श्रेष्ठ सहित दोषीहरुले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका हुन् ।
अदालतका स्रोतका अनुसार उनीहरुलाई सर्वाेच्च फैसला कार्यान्वयनका लागि आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।
विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्चले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो । तीन आईजीपी दोषी ठहर गरी सजायँ सुनाइएकोमा दुई आईजीपी राणा र गुरुङले अदालतको फैसलाको सम्मान गर्दै आत्मसमर्पण गरेका हुन् । चन्द भने अझै फरार छन् ।
संसदमा आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकै दिन निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडान काण्डमा पूर्व प्रहरी प्रमुखत्रय ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाएको थियो ।
यस्तै, श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको थियो ।