पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले दश वर्ष देशको नेतृत्व गर्न पाए नेपालमा चमत्कार हुने बताएका छन् ।
माओवादी केन्द्रले उदयपुरको रामपुरमा हिजो आयोजना गरेको जनसभामा बोल्दै प्रचण्डले भने, ‘चाह्यो भने समृद्धि हाम्रै पालामा सम्भव हुने रहेछ । मैले सरकारको नेतृत्व गर्दैगर्दा देश अस्तव्यस्त थियो । राजनीतिक झमेला चरम सीमामा थियो । महङ्गी, बन्द, हड्तालले देश आक्रान्त थियो ।
सम्बोधनकै क्रमा उनले थपे, तर, मैले सरकारको नेतृत्व गरेपछि देश क्रमशः राजनीतिक स्थिरता, संविधान कार्यान्वयन, विकास र समृद्धिको बाटोतिर गयो । इमान्दारिता र ईच्छाशक्ति भयो भने १० महिनाको छोटो अवधिमा यति धेरै काम गर्न सकिने रहेछ, माओवादीले दश वर्ष देशको नेतृत्व गर्ने अवसर पाए नेपालमा चमत्कार हुन्छ ।’
माओवादी नेतृत्वको सरकारको दश महिने कार्यकाल नेपालको इतिहासमा स्वर्णीम् काल रहेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालको आर्थिक वृद्धिदर ७.५% छ, यो विश्वमै तेस्रो हो, आर्थिक वृद्धिमा हामीले छिमेकीलाई पनि उछिनेका छौं । लोडसेडिङ अन्त्य भएको छ, यसले गरे सकिन्छ भन्ने सन्देश राष्ट्र र जनतामा गएको छ । विकास आयोजनाहरुमा ठूलो प्रगति हासिल भएको छ । गाउँ–नगरमा करोडौं रुपैयाँ गएको छ, गणतन्त्रले के दियो भन्नेहरुलाई स्थानीय तहको निर्माण र स्थानीय तहमा पठाइएको खरबौंको बजेटले गतिलो जवाफ दिएको छ ।’