उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या समाधानका लागि संविधान संशोधन प्रस्तावमा परिमार्जनको अवस्था आएको बताएका छन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताएका हुन् । ‘सबैको सहमतिका लागि परिमार्जन गरेर भएपनि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधनले मात्रे समस्या समाधान हुने भएकोले जसरी सहमति जुट्छ त्यसरी नै संशोधन गर्दै अगाडि बढनुपर्छ ।’ सबै असन्तुष्ट पक्षलाई समेटने गरी संशोधन गरेर सर्वस्विकार्य संविधान बनाएर कार्यान्वयनमा लग्नु पर्ने उनको भनाइ थियो ।
उनले तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउनु पर्ने बताए । ‘राजपाले चुनावलाई उपयोग गर्नुपर्छ,’ उनले भने, ‘होइन भने घाटा राजपालाई नै लाग्छ र जनताबाट टाढिन्छ ।’ तेस्रो चरणको चुनावमा राजपालाई छाता चिह्न प्रदान गरेर पुन: मतपत्र छापेर निर्वाचनमा सहभागी गराउने उनले दाबी गरे । उनले मतपत्र पुन: छाप्दा राजयले आर्थिक क्षती व्यहोरिनुपर्ने भएपनि मुलुकको समस्या समाधानका लागि आवश्यक भएको बताए ।
उनले दोस्रो चरणको चुनावमा राजपा समर्थित जनता, नेता तथा कार्यकत्र्ताले स्वतन्त्र रुपमा मतदान गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल लोकतान्त्रिक फोरम नै राजपाका नेता, कार्यकत्र्ता र जनताका लागि सहज भएकोले दोस्रो चरणको चुनावमा उनीहरुले आफ्नै पार्टीलाई भोट हाल्ने आफूलाई विश्वास छ,’ गच्छदारले भने ।
उनले प्रदेश र केन्द्रको निर्वाचन कातिक १५ देखि मंसिर १० गतेभित्र गर्नैपर्ने बाध्यात्मक अवस्था रहेको तर त्यसको लागि अहिले मिति तय नभएको बताए ।
http://bit.ly/2t5sT4R