स्थानीय तह दोस्रो चरण मतदानको दिन गृह मन्त्रालयले सेनाको ब्याकअप सुरक्षा घेरामा १ लाख ६३ हजार सुरक्षाकर्मी परिचालन गरेको छ।
तीन वटा प्रदेशको ३५ जिल्लामा भइरहेको मतदानमा नेपाल प्रहरीले सुरक्षाको नेतृत्व गरेको छ। ८ हजार ३ सय ६४ मतदानको केन्द्रको भित्रि सुरक्षा प्रहरीले गरिरहेको छ। मतदान केन्द्रको बाहिरी घेरामा म्यादी प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।
गृह स्रोतका अनुसार मतदान केन्द्रलाई तीन तहको सुरक्षा घेराभित्र राखेर मतदाता लाइनमा रहेको क्षेत्रलाई संवेदनशील घेरामा पारिएको छ। सो घेरामा रहेका कसैले शंकास्पद गतिविधि गरे सुरक्षाकर्मीले अवस्था हेरेर तत्काल पक्राउ र क्षतिको सम्भावना देखे गोली हान्ने अधिकार पाएको छ।
गृह स्रोतका अनुसार सुरक्षाको दृष्टिले अती संवेदनशील देखिएको मतदान केन्द्रको बाहिरी घेरामा सेना समेत परिचालित छ। सामान्य सुरक्षा अवस्था रहेको स्थानमा सेना गस्ती गरिरहेको छ।
मतदानको अवधि, मतपेटीका संकलन र ढुवानीसम्मको सुरक्षा परिचालनका लागि जिल्लादेखि केन्द्रसम्म कमाण्ड सेन्टर बिहानैबाट सक्रिय छ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय प्रहरी प्रमुख, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र सेनाको प्रतिनिधि रहेको कमाण्ड पोष्ट सक्रिय छ।
केन्द्रमा हेडक्वाटरमा संयुक्त कमाण्ड सेन्टर छ भने गृहमा गृह सचिव,शान्ति सुरक्षा महाशाका प्रमुख, तीनवटै सुरक्षा संगठन प्रमुख र सेनाको प्रतिनिधिसहितको कमाण्ड सेन्टर सक्रिय छ।
मन्त्रालयका एक अधिकारीका अनुसार सबै मतदान केन्द्रमा भिड नियन्त्रणका लागि दंगा प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। उनीहरु मतदान केन्द्र नजिकै तयारी अवस्थामा रहनेछन्।
मतदान केन्द्रसम्म मतदाता आउँदा निर्वाचन विरोधी समूहले अवरोध गर्नसक्ने मुख्य नाका र गौडामा संवेदनशीलताको आधारमा सशस्त्र र सेना खटाइएको छ।
मतदान केन्द्रभित्र मोवाइल प्रतिबन्ध गरिएको छ। केही जिल्लामा बम राखेर त्रास फैलाउने प्रयास बढेकाले सेना,सशस्त्र र प्रहरीको बम निरोधक टोली तयारी अवस्थामा छन्।
गृहका अधिकारीका अनुसार भौगोलिक अवस्थामा सडक यातायात कठिन रहेको स्थानमा आउनसक्ने सुरक्षा चुनौति सामना गर्न क्षेत्र विभाजन गरेर सुरक्षा टोली र हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।