धरान उपमहानगरपालिकाको मतगणना अवरुद्ध भएको ४२ घण्टा बित्दा अन्योल झन् बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम आ–आफ्नो पार्टी कार्यालयमा बैठक बस्ने र पत्रकार सम्मेलनमा व्यस्त छन् । सर्वदलीय वैठकबाट समाधान निकाल्ने प्रयास सफल भएको छैन ।
सोमबार राति ९ बजे गणनाका क्रममा एउटा दलको मत अर्को दलमा जोडेको भन्दै विवाद भएको थियो । त्यसपछि रोकिएको गणना अझै सुरु भएको छैन । वडा ९ र १० को मतगणना पूरा भएर मुचुल्का गरिसकेपछि सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले अन्तिम जाँच गर्दा केही प्राविधिक त्रुटि भएको र त्यसलाई सच्याउनुपर्ने जानकारी दिएपछि माओवादी केन्द्रका प्रतिनिधिले धाँधली भएको भन्दै मतगणना अवरुद्ध गरेका थिए ।
सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले अहिलेसम्म सर्वदलीय बैठक बस्न नसकेकाले अन्योल छाएको बताए । माओवादी केन्द्रले वडा १ देखि ८ सम्मका मत पुन: गन्न दलीय समिति बनाउनुपर्ने माग गरेको छ । एमालेले दलीय समिति मान्य नहुने तर पुन मतगणना भने गर्न सकिने जनाएको छ ।
संघीय समाजवादीले गणना गरिएको मत पुन: जाँच्नुपर्ने जनाएको छ । समाजवादीले अदालतको ढोका ढकढक्याउने चेतावनी दिएको छ । समाजवादीका जिल्ला सचिव ताजुव लिम्बूले वडा ८ सम्म मत गणना गर्दा एमालेले घोटाला गरेको शंका बढेको दाबी गरे । कांग्रेसका मेयर उम्मेदवार तिलक राईले सर्वदलीय बैठक फेरि बसेर मत गणना गर्नुपर्ने तयारी भएको बताए ।
माओवादी केन्द्रका नगर इन्जार्च चोत्लुङले सर्वदलीय सर्वपक्षीय समिति बनाउनुपर्ने, नौ र दस वडाको पुन: मत गणना गर्नुपर्ने, गणक कर्मचारीलाई कारबाही गर्नुपर्ने र अहिलेसम्मको मतको पुन: निरीक्षण गर्नुपर्ने माग गरेको बताए ।
एमालेले अरूको मत आफ्नोमा नजोडिए पनि यस्तो अफवाह फैलाइको भन्दै आपत्ती जनाएको छ । एमालेका उपमेयर उम्मेदवार मन्जु भण्डारीले मतगणना स्थलमा निर्वाचन आयोगका कर्मचारी, दलका प्रतिनधि, प्रहरी प्रसासनको उपस्थितिमा गणकले एक दलको मत अर्कोमा जोड्नै नसक्ने बताइन् । उनले भनिन्, ‘दलका मित्रहरूले धरानलाई भरतपुर बनाउन खोजेका छन् । गणना भएर प्रक्रिया पूरा भएको वडा नौ र दसको नतिजा समेत निर्वाचन आयोगले सार्वजनिक गर्न सकेको छैन । जनताको अभिमतलाई यति लामो समयसम्म लुकाएर राख्न हुँदैन ।’