सर्वोच्च अदालतले न्याय दिने आशमा बसेका डीआइजी नवराज सिलवालले आफूमाथि अन्याय भएको बताएका छन् ।
प्रहरी महानिरीक्षकको दाबेदार रहेका सिलवाल शनिबार सरकारले गरेको एआइजीको सिफारिसमा पनि छुटेका छन् । जबकी उनीभन्दा जुनियरहरुको पनि नाम सिफारिस गरेको छ ।सिलवाललाई बढुवा नगर्नुको कारण बारे भने प्रहरी प्रधान कार्यालयले केही बोलेको छैन् ।
सिलवालले आफूलाई डीआइजीबाटै घर पठाउने षडयन्त्र भइरहेको बताए । सिलवालले भने – ‘ममाथि अन्याय भएको छ । मेरो मुद्दा बिचाराधीन भइरहेको बेला एआइजी बढुवा गर्नु घोर अन्याय हो । कतिपय मलाई सिध्याउने गरी लागेका छन् ।’
यसअघि डीआइजी बढुवामा आफ्नो ब्याचमा एक नम्बरमा रहेका सिलवाल अहिले पनि संघर्षमा छन् । तर, उनको ब्याचको दोस्रो नम्बरका डीआइजी प्रकाश अर्याल महानिरीक्षक बनिसके । चौंथो नम्बरमा रहेका बमबहादुर भण्डारी जयबहादुर चन्दलाई उछिन्दै एक नम्बर एआइजी बनेका छन् । चन्द दोस्रो नम्बरमा छन् ।
आइजी नभए सिलवाल आगामी पुस ४ गते डीआइजीबाटै घर जानेछन् । सर्वोच्चमा रहेको मुद्दा पनि बिचाराधिन छ ।
‘मलाई अनावश्यक तनाब दिने काममात्र भएको छ । अन्यायको पराकाष्ठा नाघिसकेको छ ।’- डीआइजी सिलवालले भने ।