नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्ता सत्ता र भत्ता लोभमा पर्दा जनताले भोट नदिएको गुनासो गरेका छन् । यसैकारण संगठन सखाप भएको उनको भनाई छ ।
प्रदेश नम्बर दुईमा जारी पार्टीको चुनावी अभियानका क्रममा जनकपुरमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेको र कार्यकर्ता पनि तिनकै पछि दौडिदा संगठन सखाप भएको दुखेसो पोखे ।
‘आत्म निर्णयको अधिकारसहितको संघीयता, गणतन्त्र तथा जातीय पहिचानको मुद्दा बुलन्द गर्ने माओवादी, भोट पाउने एमाले ?’ प्रश्न गर्दै प्रचण्डले भने– ‘अचेल माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेका छन् । संगठन सखाप भएको छ । नेता कार्यकर्ता सत्ता र भत्ता लोभमा लाग्दा जनताले भोट नदिएर तेस्रो स्थानमा पुर्यादिए ।’
माओवादी संघीयता, गणतन्त्र, समानुपातिकता तथा पहिचानको पक्षधर पार्टी हुँदा पनि जनताले तेस्रो शक्तिको रुपमा स्वीकारेको भन्दै उनले असोज २ गते हुने निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्यका साथ जनताको घर घरमा जान निर्देशन दिए ।