नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरामीपछि बेडरेष्टमा छन् । तर उनका प्रिय पात्रहरु भने छोडेर माओवादी केन्द्रमा प्रवेश गर्न थालेका छन् ।
माओवादी युद्धदेखि भट्टराईको पक्षमा लाग्दै आएका नेता देवेन्द्र पौडेल प्रचण्ड खोज्दै लाजिम्पाट पुगेका छन् । भट्टराईले माओवादी केन्द्र परित्याग गर्दा पौडेलले पनि परित्याग गरेका थिए । तर पौडेलसहित नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।
लामो समयदेखि भट्टराईसँग असन्तुष्ट रहँदै आएका पौडेल, रामचन्द्र झा, बामदेव क्षेत्री र महेन्द्र पासबान विहीबारदेखि माओवादी केन्द्रका झण्डामा जान लागेका छन् । अहिले नै कुन पार्टीमा जाने भन्ने निर्णय लिइनसकेका रामचन्द्र झा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका थिए । लाजिम्पाटमा अध्यक्ष प्रचण्ड नेता रामबहादुर थापा र गृहमन्त्री जनार्दन शर्मासँग छलफल गरेको स्रोतले बताएको छ ।
एमालेसँग पदको बार्गेनिङ गरिरहेका झा पद माग्दै प्रचण्डसँग पनि पुगेका छन् । जुन पार्टीले राम्रो पद दिन्छ त्यही पार्टीमा जाने निस्कर्ष निकालेका झा बालकोट र लाजिम्पाट धाउन थालेका छन् ।
पौडेल, क्षेत्री र पासवान भने विहीबार पत्रकार सम्मेलन गरी माओवादी केन्द्रमा प्रवेश गर्न लागेका छन् । केही दिनदेखि काठमाडौको बागबजारमा छुट्टै बैठक गरिरहेका पौडेलले प्रचण्डको कित्तामा जाने निर्णय लिएका छन् ।