उद्धारमा सेना ,हेलिकोप्टर सहित कमान्डो परिचालन गरिने

उद्धारमा सेना ,हेलिकोप्टर सहित कमान्डो परिचालन गरिने
समाचार

शुक्रबार परेको अविरल वर्षाको कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँकेलगायत जिल्लामा आएको बाढी तथा डुबानपछि नेपाली सेना उद्धारमा जुटिरहेको छ । डुबानमा परेका इलाकाहरुमा नजिकै तैनाथ नेपाली सेनाको युनिटहरु खोज तथा उद्धार कार्यमा लागिरहेको सेनाले जनाएको छ ।

बढी प्रभावित सुनसरी र मोरङमा शुक्रबार मध्यरातबाट नै खोज तथा उद्धारको लागि फौजहरु परिचालित भइरहेका छन् । सुनसरीमा डुबानमा परेको जानकारी पाउनासाथ डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगको लागि फौज परिचालन गरिएको सेनाले जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोबाट ज्यान गएका ४ जनाको शवलाई पहिरोबाट निकाल्न र पहिरोमा परेका एक जनाको जिवितै उद्धारमा  सेनाले सहयोग गरेको छ।

बाँकेमा समेत खोज तथा उद्धार कार्यको लागि सेनाले काम गरिरहेको छ । सुर्खेतबाट सेनाको हेलिकोप्टर ल्याएर समेत उद्धारको काम भइरहेको छ ।  बाढी तथा डुबानमा परेका स्थानीय बासिन्दाको खोज तथा उद्धार कार्यमा मद्दतको लागि दुईवटा मोटरबाट चल्ने डुंगा र एक वटा रबर बोट लगायत अन्य आवश्यक इक्वीमेन्टसहति तीनवटा रेस्कू टिम तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

Post Comment