कोशीलगायत भारतद्वारा निर्मित एकतर्फी बाँधले तराई डुबानमा पर्दा सरकारले भारतसँग कुरा गर्न नसकेका बेला नवलपरासीमा स्थानीयले भारतीय बाँध भत्काउने प्रयास गरेका छन् ।
पश्चिम गण्डक नहरका कारण आफ्नो घर र खेतबारी डुबानमा परेको भन्दै नवलपरासीस्थित २०० को संख्यामा आएका सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका हुन् । यद्यपी बाँध भत्काउन नहर खनिरहेका सुस्ताबासीलाई स्थानीय प्रशासनले निकासका लागि भारतसँग कुरा गर्ने भनी तीन दिनको समय माग्दै फकाएको छ ।
स्थानीय एक युवकका अनुसार सुस्ताबासीले गण्डक नहरका ३ देखि ४ मिटरजति बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेन्, त्यही बेला स्थानीय प्रशासनले तीन दिनको समय माग्दै स्थानीयलाई रोक्यो । उनीहरुलाई प्रहरीले रोकेको थियो।
हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयवासी फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका थिए । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनुपर्ने माग गरेका छन् । नहरको पानीले घरबास उठिबास हुन लागेको र एक हजार बिगाहा भन्दा बढी धानबाली नष्ट गर्न थालेको गुनासो उनीहरुको छ ।
नवलपरासीका प्रहरी प्रमुख एसपी मुकुन्द आचार्यले स्थानीयबासी बाँधमा पुगेको पुष्टि गर्दै निकासका लागि भारतसँग कुरा गर्ने भनी तीन दिनको समय दिएर फर्काइएको जानकारी दिए । हामीले भारतीय पक्षसँग कुरा गर्छौं भनेर स्थानीयलाई रोक्यौं, तीन दिनभित्र भारतीय पक्षसँग कुरा गरेर समाधान गर्छाैं,’ उनले भने ।
यसअघि अविरल वर्षाले साउन २९ गते नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको थियो । सबै ढोका खोलेपछि नेपाली भुभाग डुबानमा परेको थियो । कोशी ब्यारेजजस्तै गण्डक बाँधको साँचो पनि भारतसँग रहेको छ ।