आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले स्टोरेजको लागि जग्गा खरिद प्रक्रियालाई रोकेर देखाउन पत्रकारहरुलाई कडा चुनौती दिएका छन् ।
शनिबार पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ औं साधारणसभा तथा छैठौं महाधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले स्टोरेज बनाउन सरकारको निर्देशन भएकोले कसैले रोक्न नसक्ने बताए ।
‘पत्रकार साथीहरु यहाँ हुनुहुन्छ भनेपनि तपाइँहरुले आज लेख्नुस्,’ कार्यक्रममा उनले भने, ‘कत्रो अक्षरमा लेख्नसक्नुहुन्छ लेख्नुस् । निगमले ५ वर्षभित्र स्टोरेज बनाएरै छाड्छ । हामीलाई सरकारको निर्देशन छ ।’
५ वर्षभित्र ९० दिनको लागि स्टोरेज बनाउन आफ्नो बलिदानी दिन पनि तयार रहेको उनले सुनाए । ‘स्टोरेज बन्छ, बनाउनुपर्छ र त्यो जसरी पनि बनाइने छ,’ उनले भने, ‘त्यसको लागि ज–जसले बलिदानी दिनुपरेपनि दिउँला । सबभन्दा पहिले त मैले पर्ला, त्यसको लागि पनि म तयार छु ।’
यद्यपी उनले सञ्चारमाध्यममा आएका विभिन्न कुरामा निगमले भनिरहनुपर्ने केही नभएको भन्न भ्याए । ‘पत्रपत्रिकाले धेरै लाञ्छना लगाएका छन्,’ उनले भने, ‘यस्तो लाञ्छनाले खासै फरक पार्दैन । आयल निगमको मनोबल उच्च नै छ ।’
उनले पेट्रोलियम पदार्थ ढुवानी कम्पनीलाई ठेक्कामा दिन टेन्डर आह्वान गर्नेबारे निगमले कुनै गृहकार्य नगरेको बताए ।
उनले भने, ‘निगमले यहाँहरुको व्यवसाय सहज गराउन संवेदनशील भएर लाग्छ । यसमा म हुदाँसम्म ढुक्क भए हुन्छ ।’