भारतले मेची नदीमाथि पुल बनाउने ,प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदै

भारतले मेची नदीमाथि पुल बनाउने ,प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदै
समाचार

भारतले मेची नदीमाथि पुल बनाउने भएको छ । नेपालको काकडभिट्टाबाट भारतको पानीट्याङ्की बाइपास जोडिने गरी यो नयाँ पुल बनाउने समझदारी पत्रमा भोलि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुँदैछ । भारतले नदीमाथि १५९ करोड भारुको लागतमा पुल बनाउने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भ्रमणको क्रममा बुधबार नयाँ दिल्ली पुगेका छन् । भोलि हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच वन टु वन वार्तापछि हुने प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा यो समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नेपालसँग हुने यो समझदारीपत्रलाई भारतको मन्त्रिपरिषद्ले आज पारित गरेको छ । समझदारीपत्रमा भारत र नेपालबीच मेची नदीमाथि नयाँ पुल बनाउन सुरु गर्न लागत बाँडफाँट, तालिका र सुरक्षाका विषय उल्लेख छन् ।

भारत सरकारले एसियाली विकास बैँकको ऋण लिएर यो पुल बनाउन लागेको भारतीय मन्त्री अरुण जेट्लीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुलले क्षेत्रीय कनेक्टिभिटीमा सुधार गर्ने र दुई देशबीचको सीमापार व्यापारलाई सुदृढ बनाउने उनले बताए ।

नेपाल र भारतबीच भोलि हुने अर्को एउटा समझदारीपत्रलाई पनि भारतीय मन्त्रिपरिषद्ले आज पारित गरेको उनले जानकारी दिए । अर्को समझदारी लागू औषधको ‌ओसारपसार र नियन्त्रणबारे छ ।

Post Comment