एमालेका नेताहरुलाई लक्षित गरी ढुंगा बर्साएपछि प्रहरीको लाठिचार्ज,राजपाका नेता सहित ४७ जना घाईते

एमालेका नेताहरुलाई लक्षित गरी ढुंगा बर्साएपछि प्रहरीको लाठिचार्ज,राजपाका नेता सहित ४७ जना घाईते
समाचार

जनकपुरमा मंगलबार एमालेको भेलालाई अबरोध गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय नेतासहित ४७ जना घाइते भएका छन् ।

घटनाका सम्बन्धमा विज्ञिप्त जारी गर्दै राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरले केन्द्रीय प्रवक्ता लालकिशोर साहसहित ४७ जना नेता कार्यकर्ता घाइते भएको जनाएका छन् । घटनामा प्रवक्ता साहसहित केन्द्रीय सदस्य एवं धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह, विन्दु ठाकुर, सरिता चौधरी, विभा पाण्डे, अमर पंजियार, रिता झा, ज्ञानेन्द्र झासहित ४७ जना घाइते भएको ठाकुरको विज्ञप्तिमा उल्लेख छ । विभा ठाकुरलाई दुर्व्यवहार गर्दै प्रहरीले लुगा च्यातिदिएको विज्ञप्तिमा दाबी गरिएको छ ।

एमालेले मंगलबार आयोजना गरेको दुई नम्बर प्रदेशको मोर्चा संगठनको विशेष भेलालाई अवरोध गर्ने क्रममा राजपाका नेता कार्यकर्ता घाइते भएका छन् । रामानन्द चोकमा अबरोध गरेका राजपा कार्यकर्ताले त्यसलगत्तै पिडारी चोकमा भेला चलिरहेको बेला एमाले नेताहरुलाई नै लक्षित गरी मञ्चमै ढुंगा बर्साएका थिए । मञ्चमा एमालेका नेताहरु माधव नेपाल, गोकर्ण विष्ट लगायत थिए ।

राजपाका अध्यक्ष ठाकुरले भने प्रहरीको तीन पटकको लाठी चार्ज गरेका कारण आफ्ना कार्यकर्ता घाइते भएको दाबी गरेका छन् । उनले प्रहरी हस्तक्षेपको विरोध पनि गरेका छन् ।

Post Comment