निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाएको छ । ३५ दिन काम गरेर आयोगले संविधान अनुसार संघीय संसद अर्थात प्रतिनिधिसभाका लागि एक सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।
प्रतिनिधिसभाको एक क्षेत्र बराबर प्रदेशसभाको २ क्षेत्र बनाइएको छ । सबैभन्दा धेरै काठमाडौंमा प्रतिनिधिसभा लागि १० वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । काठमाडौंमा यसअघि पनि १० वटै निर्वाचन क्षेत्र थिए । प्रदेशसभाका लागि भने काठमाडौंमा २० क्षेत्र बनेका छन् । मोरङमा प्रतिनिधिसभाका लागि ६ वटा र प्रदेशसभाका लागि १२ वटा निर्वाचन क्षेत्र बनाइएको छ ।
प्रतिनिधिसभका लागि ३७ वटा जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र बनाइएको छ । १९ वटा जिल्लामा भने दुईवटा निर्वाचन क्षेत्र बनाइएको छ । निर्वाचन क्षेत्र निर्धारण गर्दा केही गाउँपालिका र नगरपालिकालाईसमेत टुक्रयाइएको छ । तर वडालाई भने टुक्र्याइको छैन । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।
आयोगले संविधान बमोजिम जनसंख्या र भुगोलका आधारमा संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । गएको साउन ५ गते गठन भएको आयोगले काम सुरु गरेको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने सर्त पाएको आयोगलाई सरकारले फेरि साउन ३१ गते १५ दिन समय थप गरेको थियो ।