बुढीगण्डकीको विषयमा छलफल गर्न एक सातादेखि समय माग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले समय नमिलाएको भन्दै पूर्व प्रधानमन्त्री एव्म नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईको सचिवालयले असन्तुष्टि जनाएको छ ।
‘पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले गोरखा र धादिङका सबै पार्टी सम्मिलित बुढीगण्डकी सरोकार समाजको प्रतिनिधिमण्डल सहित भेट्न र बुढीगण्डकी आयोजनाको बारेमा कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग विगत एक हप्तादेखि मात्रै १० मिनेट समय माग्दा पनि प्रधानमन्त्री र उहाँको सचिवालयबाट निरन्तर वेवास्ता भइरहेको छ ।’ बाबुरामको सचिवालयले भनेको छ, ‘राष्ट्रिय गौरवका आयोजनासँग सम्बन्धित विषयमा समेत प्रधानमन्त्रीको वेवास्ता र उदासिनताले विकास र समृद्धि वर्तमान सरकारको प्राथमिकतामा नभएको पुष्टि गर्दछ ।’
यस अघि पनि डा.भट्टराईको सचिवालयले प्रचण्ड प्रधानमन्त्री समय नदिएको भन्दै असन्तुष्टि राखेको थियो ।
बुढीगण्डकी निर्माणको काम चिनियाँ कम्पनीलाई दिने प्रक्रिया र वित्रिप्रति बाबुरामले असहमति राख्दै आएका छन् ।