पाँच दिन शैक्षिक संस्था बन्द गर्न माग,असोज २गते सार्वजनिक बिदा प्रस्ताव

पाँच दिन शैक्षिक संस्था बन्द गर्न माग,असोज २गते सार्वजनिक बिदा प्रस्ताव
समाचार

निर्वाचन आयोगले प्रदेश २ का आठ जिल्लामा आगामी २ असोजमा हुने स्थानीय तह निर्वाचनका लागि पाँच दिन शैक्षिक संस्था बन्द गर्न सरकारसँग माग गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले तेस्रो चरणमा प्रदेश २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा २९ भदौदेखि २ असोजसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन माग गरेको हो ।

आयोगले निर्वाचनका दिन प्रदेश २ मा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनसमेत सरकारसँग माग गरेको छ । मतदान कार्य सञ्चालनका लागि तोकिएका अधिकांश केन्द्र विभिन्न सार्वजनिक एवं संस्थागत विद्यालय, क्याम्पसलगायतका शैक्षिक संस्था रहेकाले २९ भदौदेखि २ असोजसम्म ती जिल्लाका सबै शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको हो ।

निर्वाचन हुने सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका सबै सरकारी तथा अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा २ असोजमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयसँग आग्रह गरेको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मतदानपछि पनि कुनै सार्वजनिक वा संस्थागत विद्यालय र क्याम्पसमा मतगणना हुने अवस्था आए मतगणना कार्य सम्पन्न नभएसम्म ती विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउनसमेत शिक्षा मन्त्रालयलाई आयोगले अनुरोध गरेको छ ।

यसैगरी आगामी २ असोजका दिन तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने ८ जिल्लामा मतदान कार्य सञ्चालनका लागि केन्द्र तोकिएका गाउँपालिका तथा नगरपालिकाका, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसर उपलब्ध गराइदिनसमेत आयोगले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

Post Comment