संसद्ले तेस्रो संविधान दिवस सोमबार मनाउँदै छ । ३ असोज ०७२ मा संविधान घोषणा भएको थियो । सरकारले ३ असोजमै दिवस मनाउने गरे पनि संसद्ले भने एक दिनअघि दिवस मनाउने गरेको छ ।
संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, उपप्रधानमन्त्रीहरू, मन्त्रिमण्डलका सदस्यदेखि पूर्वसांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा करिब २५ सयको सहभागिता रहने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनका अनुसार कार्यक्रममा सभामुख ओनसरी घर्तीले मन्तव्य राख्नेछिन् । त्यसपछि चियापान कार्यक्रम हुनेछ । ३ असोजमा संविधान जारी भए पनि अघिल्लो दिन नै संसद्ले औपचारिक कार्यक्रम राख्ने गरेको छ । २ गते नै दिवस मनाउनुको खास कारण भने नभएको संसद् सचिवालयले जनाएको छ ।
गत वर्ष सभामुख घर्ती, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईलगायतको टोली साताव्यापी चीन भ्रमणमा जाने भएपछि संविधान घोषणा भएको अघिल्लो दिन नै दिवस मनाएको थियो । ३ असोजमा भने संसद् बैठक राखिएको छ । ४ असोजमा सभामुख चीन भ्रमणमा जाने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए । चीनको कुन्मिङमा आयोजित ‘वन रोड, वन बेल्ट’ कार्यक्रममा भाग लिन घर्ती चीन जान लागेकी हुन् ।