स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा २१ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा एमाले चार र नेकपा माओवादी केन्द्र ३ स्थानीय तहमा विजयी भएका छन् ।
नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी २-२ स्थानीय तहमा विजयी भएका छन् ।
प्राप्त पछिल्लो जानकारीअनुसार पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ २८०२ मतकासाथ विजयी भएका छन् ।
उपाध्यक्षमा सोही पार्टीकी शानितमाया थिङ २४३५ मतसहित विजयी भइन । सप्तरीको बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका परमानन्द यादव ३५४५ मतसहित निर्वाचित भएका छन् ।
कांग्रेसकै उपाध्यक्षमा पुष्पकला देवी निर्वाचित भइन । बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुवनेश्वर धामी ३३२९ मतसहित निर्वाचित भए ।
उपाध्यक्षमा पनि कांग्रेसकै चित्ररेखा चौधरी ३३७२ मतकासाथ विजयी भइन ।
सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह ४५२१ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै अकली सहनी विजयी भएकी छन् ।