प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भन्नुभयो– ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’’
यसै विश्वविद्यालयमा उहाँले दुई दशकअघि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई सम्बोधन गर्नुभएको थियो ।
नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उहाँले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गर्ने विश्वास प्रकट गर्नुभयो ।
शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताउनुभयो र प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त हो भन्नुभयो । उहाँले भन्नुभयो – “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकामा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।”
सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उहाँले स्मरण दिलाउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो– “नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको र आफ्नै चासोमा पनि यसै किसिमको सजगताको अपेक्षा राख्छ ।”
“परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको छ, विश्वका चुनौतीको शीघ्रातिशीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन हामीले राष्ट्रसंघको सुधार गर्नैपर्छ” – उहाँले भन्नुभयो ।
विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
बढ्दो संकीर्णवाद तथा धार्मिक अतिवादले समाजलाई असहिष्णु बनाएको र जातीय राजनीति हाबी भएर सामाजिक सद्भावलाई खल्बल्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले हरेक संस्कृतिका मुख्यमुख्य मान्यताको संरक्षण गर्न र वास्तविक समस्यासँग जुझ्न साझा धरातल पहिल्याउनु पर्ने र सहिष्णुता तथा सद्भाव कायम गर्नुपर्ने औँल्याउनुभयो ।
कोलम्बिया विश्वविद्यालयका बौद्धिक व्यक्तित्व, विद्यार्थी र मित्रसहित विशिष्ट व्यक्तिहरुसँग दोस्रो पटक अनुभव साट्न पाउँदा गर्व लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“विश्वविद्यालयले निमन्त्रणा गरेकामा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । विविध समकालीन मुद्दामा अन्तत्र्रिmया गर्न र अनुभवको आदानप्रदान गर्न यो मञ्चले योगदान गरेको छ ।”
नेपालमा प्रजातान्त्रिक संघर्षका लागि भएको आधा शताब्दीको आधुनिक इतिहास प्रकाश पार्न आफू यहाँ उपस्थित भएको बताउँदै उहाँले प्रजातान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध, अप्ठ्यारा स्थितिमा पनि विधिको शासनप्रति प्रतिवद्ध, गरिबीले व्याप्त अतिकम विकसित एक मुलुकका रुपमा नेपाललाई प्रस्तुत गर्नुभयो ।
नेपालले सशस्त्र द्वन्द्वको समाधानमा संवाद र वार्ताको माध्यम अपनाएको जानकारी दिँदै उहाँले जटिलतम परिस्थितिमा पनि नेपाली जनताले गरेको प्रजातान्त्रिक संघर्ष र प्रजातन्त्रप्रतिको गहिरो कटिबद्धतालाई प्रतिबिम्बित गर्नु विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो ।