गायिका कोमल वली र नायिका रेखा थापा एकैचोटि राप्रपा प्रवेश गरे । राप्रपाको एकता महाधिवेशनबाट दुवै एकै पटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भए । तर, बीचमा राप्रपा विभाजन भयो । कोमल वली कमल थापाकै राप्रपामा बसिन् भने रेखा थापाले पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिक रोज्न पुगिन् ।
रेखा थापाले राप्रपा त्यागेपछि कोमल वली पनि एमाले प्रवेश गरिन् । केही समयअघि मात्रै एमाले प्रवेश गरेकी कोमललाई दाङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिएको छ । चुनाव लड्ने सर्तमा मात्र कोमल वली एमाले प्रवेश गरेकी हुन् । उनलाई मन्त्री बनाउने घोषणा एमाले अध्यक्ष केपी ओलीले गरिसकेका छन् ।
तीन दिनअघि मात्रै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच प्रदेश र संघीय निर्वाचनमा तालमेल गरेर जाने र पछि पार्टी नै एकीकरण गर्ने सहमति भएको छ । नायिका करिश्मा मानन्धर नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य हुन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीले सूर्य चिन्ह लिएर लड्ने भएको छ । जसले गर्दा अब करिश्मा र कोमल वलीले सूर्य चिन्हमा भोट माग्नेछन् ।
यता, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक भने लोकतान्त्रिक गठबन्धनमा सामेल भएको छ । रेखा राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य हुन् । कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनबीच कसरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाने भन्ने विषयमा छलफल सुरु भएको छ ।
वाम तालमेल पछि पार्टी एकीकरणको तहसम्म पुग्यो भने राप्रपालगायतका साना दलले कांग्रेससँग एकीकरण नगरी सुखै छैन । त्यसैले नायिका रेखा थापा आगामी दिनमा कांग्रेसको मोर्चामा उभिने निश्चित छ । सुरुवाती दिनमा रेखाले कांग्रेसबाटै राजनीति सुरु गरेकी हुन् । २०६२÷६३ को आन्दोलनपछि रेखा थापा कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था नेपाल सांस्कृतिक संघकी सदस्य थिइन् ।