शनिवार देखि शुरु हुने एनआरएनको आठौं विश्व सम्मेलनमा दलिय प्रभाव स्पष्ट देखिने भएको छ । विधानतः स्वतन्त्र संस्था भनिएपनि शाखा देशहरुबाट निर्वाचित अधिकांश प्रतिनिधीहरु दल निकटका छन् ।
सम्मेलनको पुर्वसन्ध्यामा गरिएका दुई कार्यक्रमले एनआरएनमा राजनीतिक विचार हावी हुने संकेत देखिएको हो । बुधवार भएको एक कार्यक्रममा कांग्रेस निकट रहेकाहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने अर्को तिर सम्मेलनका प्रत्यासी दुई उम्मेदवारले नेपाली कांग्रेसमा औपचारिक रुपमा प्रवेश गरेका छन् । एनआरएनएका अमेरिका कोर्डिअनेटर सोनाम लामा र एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
उपाध्यक्ष र युरोप संयोजकमा उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा प्रत्यासीले नेपाली कांग्रेस नजिक रहेकोले जित सुनिश्चत रहेको दावी गरे । विश्वभरबाट नेपाली कांग्रेसका महाअधिवेसन प्रतिनिधी बढि रहेको बताउदै निर्वाचित हुने बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा रञ्जु थापाले महिला उपाध्यक्षको उम्मेदवारी घोषणा गरिन् भने एनआरएनका अमेरिका कोर्डिअनेटर सोनाम लामाले उपाध्यक्षमा उम्मेदवारी दिने बताए । चिरञ्जीवी थापाले उपाध्यक्षमा, पारसमणी पोख्रेले एसिया प्यासिफिक संयोजकमा र गंगाधर गौतमले युरोप संयोजकमा उम्मेदवारीको घोषणा गरे ।
नेपाली कांग्रेस समर्थित रहेका आंकाक्षी उम्मेदवारहरुले निर्वाचन पश्चात दलिय गन्ध एनआरएनमा प्रवेश नगर्ने बताए । महिला उपाध्यक्ष पदकी प्रत्यासी रञ्जु थापाले एनआरएनले संचालन गरेका वर्तमान परियोजनाहरुको निरन्तरता दिने बताइन् ।
उपाध्यक्षका अर्का आकांक्षी सोनाम लामाले युवाहरुलाई स्वदेशमै रोजगारीका लागि वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका गंगाधर गौतमले राजनितिक अधिकार विनाको नागरिकता प्राप्तीको औचित्य नरहेको बताए । एसिया उप–संयोजकमा उम्मेदवारीको घोषणा गरेका पारसमणी पोख्रेलले अवको एनआरएनको अभियान एनआरएन विहिन नेपाल हुनुपर्ने जिकीर गर्दै युवाहरु विदिशिने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।