एनआरएनए अध्यक्षमा भट्ट र गुरुङले उम्मेदवारी दर्ता गराए,सहमतिको सम्भावना न्यून

एनआरएनए अध्यक्षमा भट्ट र गुरुङले उम्मेदवारी दर्ता गराए,सहमतिको सम्भावना न्यून
समाचार

-गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङ (घले) बीच प्रतिस्पर्धा हुने भएको छ ।

उमेद्वारी दर्ता गर्ने अन्तिम समय सोमबार करिब १० बजे गुरुङले पनि उमेद्वारी दर्ता गरेपछि निर्वाचन हुने भएको हो । भट्टले हिजै (आइतबार) साँझ नै अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका थिए ।

‘गुरुङका श्रीमान तथा हालका अध्यक्ष शेष घले र भट्ट समूहका एनआरएनहरबीच हिजोदेखि लगातार वार्ता भएपनि सहमति हुन सकेन,’ वार्तामा सहभागी एकले भने, ‘सहमति नभएपनि गुरुङले अन्तिम समयमा उमेद्वारी दर्ता गराउनु भएको छ । सहमतिको प्रयास अझै जारी छ । तर सहमति जुट्ने सम्भावना निकै न्यून छ ।’

आजै १२ बजेसम्म उमेद्वारी फिर्ताको समय भएकाले सहमतिका लागि केहि एनआरएनहरुले वार्ता जारी राखेका छन् । १२ बजेसम्म उमेद्वारी फिर्ता नभए ३ बजेबात मदतान शुरु गर्ने तयारी निर्वाचन समितिको छ । ‘३५ सदस्य कार्यसमिति चयन गर्नुपर्ने हो,’ निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले भने, ‘यसमध्ये अधिकांश पदमा उमेद्वारी परेको छ । केहि पदमा मात्रै सर्वसम्मत भइसकेको छ ।’

अध्यक्षका उमेद्वार भट्टले सामूहिक लगानी, स्मार्ट र एकेडेमी एनआरएनए बनाउने चुनावी ऐजेन्डा तय गरेका छन् । गुरुङले एनआरएनएको आफ्नै भवनको निर्माण सम्पन्न गर्ने र लाप्राक पुननिर्माण प्रमुख ऐजेन्डाबनाएकी छन् । गत शनिबारबाट सुरु एनआरएनएको आठौ विश्व सम्मेलनले नयाँ कार्यसमिति चयन हुँदै छ ।

 

Post Comment