२६ डिसेम्बर १९९१, सिंगो रुस पीडामा थियो । अमेरिका र रुस नेतृत्वको नेटोका सदस्य राष्ट्रसँगको शीतयुद्धले आर्थिक रूपमा टाट पल्टिएको सोभियत युनियन अन्तिम सास फेर्दै थियो । साँझ ७ बजेर ३२ मिनेट जाँदा कम्युनिस्ट व्यवस्था सकिएको संकेतस्वरूप क्रेमलिनमा हँसिया, हथौडा र तारा अंकित लालझन्डा अन्तिमपटक झुकाइयो ।
सिंगो सोभियत युनियन एकै झड्कामा १५ टुक्रामा विभाजित भयो । विश्वका दुई शक्ति ध्रुवमध्ये अमेरिका मात्रै अस्तित्वमा रह्यो, त्यसैले उसलाई महाशक्ति भनियो । विभाजनपछि बनेको रुस अन्तर्राष्ट्रिय राजनीतिमा प्रभावहीन बन्यो । राजनीतिक र आर्थिक विचारधारामा खासै भिन्नता नभए पनि पुरानो मनोविज्ञानले यी देश कहिल्यै असल मित्र बन्न सकेनन् ।
गत वर्ष भने माहोल फरक थियो । अमेरिकी राष्ट्रपतिको चुनावपछि मस्कोका सडकमा जनताले खुसियाली मनाए । वर्षौंदेखि दुखिरहेको घाउमा थोरै भए पनि मलमपट्टी लागेको महसुस गरे । यस जितलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कूटनीतिक विजय भनियो । आखिर किन ?
यौनकर्मीदेखि परिवारका सदस्यसम्म, यस्तो छ पुटिन–ट्रम्प कनेक्सन
अमेरिकी राजनीतिमा ठाडो हस्तक्षेप गर्ने सामथ्र्य रुससँग छ भनेर कमैले सोचेका थिए । तर, भयो अनौठो । राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजयलाई विपक्षी डेमोक्र्याटिक पार्टीले रुसी हस्तक्षेपको उपज भनेको छ । डेमोक्र्याटिक पार्टीको आरोप मान्ने हो भने ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कठपुतली हुन् । पुटिनको आशीर्वादमा चलेर उनले अमेरिकी स्वाभिमान र अर्थव्यवस्थालाई कमजोर बनाउँदै छन् भन्ने आरोप पनि छ ।
ट्रम्पले अमेरिकालाई कस्तो बनाउलान् भन्ने विषय अलग पाटो हो । तर, डेमोक्र्याटिक पार्टीको आरोप पत्याउने हो भने पुटिनले ‘ट्रम्प कार्ड’ फ्याँकेर अमेरिकी स्वाभिमानमा हिलो छ्यापेका छन् । डेमोक्र्याटिक नेताहरूले आरोप लगाएजस्तै ट्रम्प र पुटिनबीच साँच्चै विशेष सम्बन्ध छ त ? उत्तर अस्पष्ट छ ।
धनाढ्य ट्रम्पको सम्बन्ध धेरैसँग छ, तर त्यो ‘माकुराको जालो’जस्तै छ, त्यसैले छुट्याउन गाह्रै छ । विश्वकै शक्तिशाली व्यक्तित्व मानिएका पुटिन पनि धनाढ्यसँग सम्बन्ध बनाउन उत्तिकै माहिर छन् ।
अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव फैलाएर त्यसैलाई राष्ट्रवादको प्रमाणपत्रका रूपमा प्रचार गर्दै उनी सन् १९९९ देखि निरन्तर कार्यकारी पदमा छन् । ‘सोभियत संघको विघटन बिसौँ शताब्दीको सबैभन्दा ठूलो भू–राजनीतिक दुर्घटना थियो,’ पुटिनले पटक–पटक भन्दै आएका छन् । सोभियतकालमा उनले गुप्तचर संस्था (केजिबी)को अधिकारी भएर १६ वर्षसम्म विभिन्न देशमा काम गरेका थिए । अहिले पनि उनको कूटनीतिमा त्यसैको प्रभाव देखिन्छ ।
रिपोर्टका अनुसार पुटिनले रुसी जासुसहरूकै सहयोगमा ट्रम्पका लागि ह्वाइटहाउसको ढोका खोलिदिएका हुन् । अझै पनि आफ्ना निकटस्थहरूलाई प्रयोग गरेर उनले ट्रम्पलाई नजिक बनाइराख्न सकेका छन् । यसमा उनले ट्रम्पका व्यापारिक साझेदार, अमेरिकी प्रशासनका शीर्ष व्यक्ति तथा राजनीतिक सल्लाहकार मात्र होइन, ट्रम्प परिवारका सदस्यलाई पनि भर्याङ बनाइरहेका छन् । यस्तै, माकुरे जालोले दुई शत्रु देशका शीर्ष व्यक्तित्वको सम्बन्ध असाधारण रूपले नजिक बनेको छ।
ट्रम्पका महान्यायाधिवक्ता जेफ सेसन्सले चुनावीताका रुसी राजदूत सर्ग किसल्यकसँग दुईपटक भेटेका थिए । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन अर्का पात्र हुन्, जो रुससँग नजिकको सम्बन्ध राख्छन् । एक्ससन मोबिल कम्पनीको सिइओ छँदा उनले रुसी सरकारको स्वामित्व रहेको रोस्नेफ्ट तेल कम्पनीसँग कारोबार बढाएका थिए । सो रसियन कम्पनीका अध्यक्ष इगोर सेचिनसँग टिलर्सनको सम्बन्ध अहिले पनि उत्तिकै बलियो छ । रुसकै ठूलो उर्जा कम्पनी गाजप्रोमसँग पनि टिलर्सनको कम्पनीको कारोबार थियो ।
पुटिनसँग निकटस्थ ट्रम्प प्रशासनका अर्का व्यक्ति माइकल फ्लाइन हुन् । गत फेब्रुअरीमा राजीनामा गर्नुअघि उनी ट्रम्पका राजनीतिक सल्लाहकार थिए । उनी त्यस्ता व्यक्ति हुन्, जसले रुसी सरकारबाट पैसा नै लिने गरेको आरोप पुष्टि भएको थियो । आफ्नै नामको अर्को एकाउन्ट खोलेर उनले रुसी राजदूत किसल्यकसँग पैसा लिएका थिए । रुसी टेलिभिजन ‘आरटी’ मा चुनावताका ट्रम्पको पक्षमा गरेको विश्लेषणका लागि उनलाई सो पैसा भुक्तान गरिएको थियो । सन् २०१३ मा अमेरिकी गुप्तचर संस्थाको निर्देशक छँदा नै उनले रुसी गुप्तचर संस्थाको कार्यालय पनि भ्रमण गरेका थिए ।
रुस सरकारको स्वामित्व रहेको कम्पनीमा सेयर लगानी गरेका व्यवसायी कार्टर पेज ट्रम्पका सहयोगीमध्ये एक हुन् । उनीसहित अन्य दुई सल्लाहकारले त्यस समयमा रोसनेफ्ट कम्पनीका म्यानेजरलाई भेटेका थिए । यो भेट पनि रुसी राजदूत किसल्यकमार्फत नै भएको थियो । भेटका धेरै प्रसंग बाहिर आएका छैनन् ।
सन् २०१६ को मध्यसम्म ट्रम्पको चुनावी अभियानका व्यवस्थापक रहेका पाउल मानाफोर्ट पुटिनसँग जोडिएका अर्का व्यक्ति हुन् । उनी युक्रेनका पूर्वराष्ट्रपति भिक्टोर यानुकोविचका समेत सल्लाहकार हुन् । यानुकोविचले पनि कुनै समय पुटिनको आर्थिक सहयोगमा चुनाव जितेका थिए । त्यतिवेला यानुकोविचलाई पुटिनले डिमिट्री फिर्टासमार्फत आर्थिक सहयोग गर्ने गरेका थिए । युक्रेनी तेल व्यवसायी फिर्टास र पुटिन लामो समयदेखिका मित्र हुन् ।
राजनीतिक सल्लाहकार रोजर स्टोन ट्रम्प–पुटिन सम्बन्धका अर्का सेतु हुन् । उनले आफ्ना अज्ञात साथीसँगको सहयोगमा हिलारी क्लिन्टन तथा डेमोक्र्याट पार्टीको चुनावी अभियानका गोप्य इमेल हात पारेका थिए । रुसी जासुसहरूको सहयोगमा ह्याक भएको यो इमेल विकिलिक्सका सञ्चालक जुलियन असान्जसम्म पुग्यो । विकिलिक्समा प्रकाशित इमेलका विषयमा रुसी टेलिभिजन ‘आरटी’ मा शृंखलाबद्ध कार्यक्रम प्रसारण भयो, कार्यक्रमका प्रस्तोता असान्ज स्वयं थिए ।
अमेरिकी चुनावअघि नै ट्रम्प र पुटिनको सुमधुर सम्बन्ध रहेको अनुमान छ । सन् २०१३ मा ट्रम्प र अलास अगालारोभले मिलेर मस्कोमा ‘मिस युनिभर्स’ सुन्दरी प्रतियोगिता आयोजना गरेका थिए । रुसी तेल व्यापारी अगालारोभले पुटिन सरकारबाट ठूला–ठूला निर्माणको ठेक्का लिँदै आएका छन् । उनले सुन्दरी प्रतियोगितामा पुटिन उपस्थित हुने आश्वासन ट्रम्पलाई दिलाएका थिए । ‘के तपाईंलाई लाग्छ पुटिन नोभेम्बरमा मिस युनिभर्स हेर्न मस्को आउनेछन् ?’ पुटिनलाई भेट्न उत्सुक ट्रम्पले ट्विटरमा त्यसवेला लेखेका थिए, ‘यस्तो भयो भने, उनी मेरो नयाँ तर अभिन्न मित्र हुनेछन् ।’ ट्रम्पको अपेक्षाअनुसार पुटिन कार्यक्रममा उपस्थित त भएनन् । तर, उनले ट्रम्पलाई खुसी पार्न आफ्नै हातले चिट्ठी लेखे, सो चिट्ठी कार्यक्रममा पढेर सुनाइएको थियो ।
रुस–अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष सर्जी मिलियानले ट्रम्प र पुटिनको विशेष सम्बन्ध रहेको दाबी गरेका छन् । उनले रुसले चुनावताका उपलब्ध गराएका दस्तावेज ट्रम्पका लागि निकै फलदायी भएको दाबी गरेका छन् । तर, त्यो सम्बन्ध विश्वासमा नभएर आशंका र धम्कीको भरमा टिकेको उनको भनाइ छ । ट्रम्पले मस्कोमा यौनकर्मी भाडामा लिएको प्रमाण रुस सरकारसँग सुरक्षित रहेको दाबी पनि उनको छ । तर, यिनै व्यक्तिले चुनावी अभियानताका ट्रम्पसँग नजिक भएर काम गरेका थिए ।
मिक्स मार्सल आर्टस्का स्टार फेडोर इमिलनियनेन्को ट्रम्पका पूर्वव्यापारिक साझेदार हुन् । यी रुसी स्टार पुटिनका प्रिय व्यक्ति मानिन्छन् । व्यावसायिक सम्बन्ध यतिमै सीमित छैन । ट्रम्प अर्गनाइजेसन र रुसको सबैभन्दा ठूलो निजी बैंक अल्फा बैंकबीच निजी सर्भरमार्फत भएको रहस्यमय कनेक्सन केही समयअघि पर्दाबाहिर आएको थियो ।
पुटिनले रुसी जासुसहरूकै सहयोगमा ट्रम्पका लागि ह्वाइटहाउसको ढोका खोलिदिएका हुन् । अझै पनि आफ्ना निकटस्थहरूलाई प्रयोग गरेर उनले ट्रम्पलाई नजिक बनाइरहेका छन् । उनले ट्रम्पका व्यापारिक साझेदार, अमेरिकी प्रशासनका शीर्ष व्यक्ति तथा राजनीतिक सल्लाहकार मात्र होइन, ट्रम्प परिवारका सदस्यलाई पनि यसको भर्याङ बनाइरहेका छन् ।
ट्रम्पका व्यापारिक सहयोगी फेलिक्स सटरमाथि रुसी माफियाहरूसँग मिलेर सेयर ठगी योजना ल्याएको आरोप छ । यसरी ठगी गर्ने योजना सटर र डिमिट्री फिरटासले मिलेर बनाएका थिए । अमेरिकी गुप्तचर संस्था (एफबिआई)ले यस घटनामा पुटिनसमेत संलग्न रहेको निष्कर्ष निकालेको थियो । एफबिआईका अनुसार यस प्रकरणमा साल लाउरियाले पुटिनका तर्फबाट सटरसँग डिल गरेका थिए । उनीहरूबीच पुटिन आबद्ध एफएल ग्रुपलाई एक सय ५० मिलियन अमेरिकी डलर दिने सम्झौता भएको थियो । पुटिनले साल लाउरियामार्फत यो रकम ट्रम्पको ‘सोहो’ प्रोजेक्टमा लगानी गरेका थिए । यो प्रोजेक्टअन्तर्गत ट्रम्पले होटेल र अपार्टमेन्ट बनाएका थिए ।
ट्रम्पसँग पुग्न पुटिनलाई व्यापारी नै चाहिने पनि होइन । उनको पहुँच ट्रम्पको परिवारसम्मै छ । फाबियन बउस्सार्टले चलाउँदै आएको वैचारिक–राजनीतिक अभियानमा एकपटक ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले भाषण दिएका थिए । बउस्सार्टकी श्रीमती रान्डा कास्सिस सिरियाली मूलकी हुन् । रुसी सरकारसँगको सहकार्यमा उनीहरूले यो अभियान चलाउँदै आएका छन् । सिरियाली गृहयुद्धमा आफ्नो भूमिका बढाउन यस्तो अभियान चलाएको आरोप रुसमाथि छ । बउस्सार्ट तिनै व्यक्ति हुन्, जसले पुटिनलाई नोबल शान्ति पुरस्कारका लागि मनोनित गर्न अभियान चलाएका थिए ।
ट्रम्पकी छोरी इभान्का ट्रम्प र विन्डी डेङ मिल्ने साथी हुन् । उनी र पुटिनबीच प्रेम सम्बन्धमा रहेको चर्चा चल्ने गरेको थियो । विन्डी मिडिया मुगल रूपर्ट मुर्डोककी पूर्वश्रीमती हुन् । ट्रम्पका ज्वाइँ जारेद कुस्नेर अहिले ह्वाइटहाउसका वरिष्ठ सल्लाहकार हुन् । ट्रम्प–टावरमा उनी र माइकल फ्लाइनबीच भएको भेटमा रुसी राजदूत किसल्याक पनि सहभागी थिए । अमेरिकी कूटनीतिविपरीत भएको यो भेटघाट विवादमा तानिएको थियो । सतहमै देखिएकाले यी घटना र घटनामा मुछिएका पात्रहरू विवादमा तानिए । तर, सम्बन्धका थुप्रै पाटा अझै पर्दाभित्रै छन् । एक–अर्कासँग विशेष सम्बन्ध रहेको स्वीकार्न दुवै नेता तयार छैनन् ।
मूल्य–मान्यता र नैतिकताको पर्खाल नाघेर बनाएको अनुचित सम्बन्ध पुष्टि भएमा जनताले धोकेवाज करार गर्ने भय उनीहरूमा छ । त्यसैले, अँध्यारो कोठाको सट्टा दुवै राष्ट्रप्रमुख सहकार्यको खुला मैदान खोज्दै छन् । विश्वमा देखिएको द्वन्द्व समाधानका लागि यस्तो सहकार्य आवश्यक पनि छ । कुनै हालतमा बसर अल असदको सत्ता टिकाउने पुटिनको हठ र सत्ताच्यूत गर्ने अमेरिकी नीतिबीचको टकरावले सिरियाली गृहयुद्धलाई जटिल मोडमा पुर्याएको छ ।
आतंकी संगठन आइएसआइएसलाई बहाना बनाएर सुरु गरिएको शीतयुद्धकालीन शैलीको डडेलोमा सिरिया र इराकसहित मध्यपूर्वी अन्य देशका जनता जलिरहेका छन् । ठूला शक्ति राष्ट्रले गर्ने छुट्टाछुट्टै आक्रमणमा मारिनेको संख्या लाखौँ पुगिसकेको छ । मध्यपूर्वमा अमेरिका र रुसले दादागिरी मच्चाएपछि पश्चिम युरोप तथा अमेरिकामा लगातार आक्रमण गर्दै इस्लामिक आतंककारी संगठनले काउन्टर दिइरहेका छन् ।
सिरिया मामिलामा न ट्रम्प प्रशासनले पुरानो अमेरिकी नीति बदल्न सकेको छ, न त पुटिनले नै आफ्नो हठ त्यागेका छन् । यस्तो परिस्थितिमा यी दुई राष्ट्रको शक्ति संघर्षका कारण संसारभर मौलाएको आतंकवाद रोक्ने फर्मुला पनि ट्रम्प र पुटिनबाहेक अरू कसैसँग छैन ।
(विभिन्न एजेन्सीहरूको सहयोगमा अन्वेषण अधिकारीले तयार पारेको आलेख)
नयाँ पत्रिकाबाट