ट्रम्प दक्षिण कोरियामा:उत्तर कोरियाको पारमाणविक खतरासँग जुध्ने

ट्रम्प दक्षिण कोरियामा:उत्तर कोरियाको पारमाणविक खतरासँग जुध्ने
समाचार

प्योङयाङको पारमाणविक खतराको चिन्ताका माझ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियाको भ्रमण शुरु गरेका छन्।

टोकियोबाट त्यसतर्फ प्रस्थान गरेका ट्रम्पले सोमवार अमेरिकी उपकरणको सहयोगमा जापानले प्योङयाङका क्षेप्यास्त्रहरु खसाल्न सक्ने बताएका थिए।

भ्रमणका क्रममा ट्रम्पले व्यापारसम्बन्धी मुद्दालाई पनि ठाउँ दिनेछन्, उनी अमेरिका-दक्षिण कोरिया स्वतन्त्र व्यापार सम्झौतामा नयाँ प्रावधानहरु चाहन्छन्।

दक्षिण कोरियामा उनले त्यहाँका राष्ट्रपति मुन जे-इन, अमेरिकी सेना र स्थानीय राजनीतिज्ञहरुलाई भेट्नेछन्।

यद्यपि दक्षिण कोरियामा उनले २४ घण्टा मात्रै बिताउनेछन्।

तर सोलस्थित बीबीसी संवाददाता रोबिन ब्रान्ट भन्छन्, उनको दक्षिण कोरिया बसाइको एसिया भ्रमणकै सबैभन्दा बढी सांकेतिक महत्त्व हुनसक्छ।

राष्ट्रपतिको रुपमा पहिलो पटक उनी पाँचवटा एसियाली मुलुकहरुको भ्रमणमा छन्।

उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इन र आफू उत्तर कोरियाको पारमाणविक खतरासँग जुध्ने उपायबारे मिलेर काम गर्ने बताएका थिए।

सोलस्थित बीबीसी संवाददाताका अनुसार दुवै नेताले एकताका कुरा गरिरहेका छन् तर उनीहरुबीचको सम्बन्धमा तनावहरु पनि छन्।

ट्रम्पको भ्रमणको विरोधमा र स्वागतमा सोल तथा अरु ठाउँमा र्‍यालीहरु निकालिएका छन्।

Post Comment