वामदेव गौतम र रामचन्द्र पौडेलमाथि अन्तर्घात !

वामदेव गौतम र रामचन्द्र पौडेलमाथि अन्तर्घात !
समाचार

वाम गठबन्धनले करिब दुईतिहाइ बहुमत जित्ने संकेत देखिएका वेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित भएका छन् । निर्वाचन परिणामलगत्तै आफूमाथि अन्तर्घात भएको प्रस्ट संकेत गर्दै उनले तथ्य–प्रमाण जुटिसकेपछि सबै कुरा बाहिर आउने बताए ।

गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग ७७४ मतको झिनो अन्तरले पराजित भएका हुन् । एमालेबाट वाम गठबन्धन निर्माणमा गौतम प्रमुख सूत्रधारका रूपमा खटिएका थिए । सोही कारण दुवै पार्टीका नेता–कार्यकर्ताको सद्भावले जित सहज रहेको अनुमानविपरीत उनी पराजित भए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले ४४ हजार ७६ मत ल्याएका छन् भने विजयी कांग्रेसका गौतमले ४४ हजार ८२३ प्राप्त गरे ।

प्रदेश सांसदलाई भन्दा तीन हजार मत कम
स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामका आधारमा बर्दिया–१ मा एमाले र माओवादी केन्द्रको मतका आधारमा वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई क्षेत्र छाड्नुपर्ने भएपछि गौतमले सुरक्षित क्षेत्रका रूपमा बर्दिया रोजेका थिए । तर, प्रदेश सभाका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवार विजयी हुँदा गौतम भने उनीहरूले प्राप्त गरेकोभन्दा करिब तीन हजार कम मत पाएर पराजित भएका छन् ।

प्रदेश १ बाट एमालेका कविराम थारूले २३ हजार ५६० तथा र प्रदेश २ बाट माओवादी केन्द्रका तिलकराम शर्मा २३ हजार ३९२ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूले प्राप्त गरेको कुल मत ४६ हजार ९५२ हुन्छ । तर, दुवैको कुल मतभन्दा २८ सय ७६ मत कम पाएका गौतमले पार्टीभित्रैबाट अन्तर्घात भएको आशंका गरेका छन् । गौतमको आशंका स्वाभाविक प्रमाणित हुँदाको अवस्थामा भने उनी करिब ६ हजारको मतान्तरमा विजयी हुन सक्थे ।

एमाले बर्दियामा अध्यक्ष केपी ओलीनिकट हरि ज्ञवाली अध्यक्ष छन् । जिल्ला कमिटीमा पनि संस्थापनकै बहुमत छ । गौतमनिकट स्रोतले पूर्वसांसद श्याम ढकाल, केन्द्रीय खेलकुद विभागका सचिव दामोदर अर्यालगायतको समूहले असहयोग गरेको आशंका गरेको छ ।

प्रधानमन्त्रीको दाबेदार 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्रीको स्वाभाविक दाबेदार रहेको बताएलगत्तै गत साता गौतमले वाम गठबन्धनका तर्फबाट आफू प्रधानमन्त्रीको दाबेदार भएको घोषणा गरेका थिए । पार्टीबाट अध्यक्षसहित तीन वरिष्ठ नेता प्रधानमन्त्री बनिसकेकाले गठबन्धन निर्माणमा सक्रिय रहेका कारण पनि आफू स्वाभाविक दाबेदार भएको गौतमको तर्क थियो । ओलीसँग चार वर्षअघि भएको भद्र सहमतिअनुसार पनि गौतमले सांसद जितेपछि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्ने कतिपयले अनुमान गर्दै आएका थिए । गौतमनिकट स्रोतले पनि सोही कारण आफूमाथि अन्तर्घात भएको हुन सक्ने आशंका गरेको छ ।

गठबन्धन एकतामा रूपान्तरित हुनेमा विश्वस्त छु
पराजयलगत्तै गौतमले आफूमा निराशाबोध नभएको भन्दै गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘म वाम गठबन्धनको एउटा प्रमुख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रूपमा पराजित हुनुपरे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु

Post Comment