मंसिर– चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुहारी सिर्जनाले भेटेरै बधाई दिएकी छन् ।
प्रकाश दाहालको निधनपछि पोखरास्थित माइती घरमा बस्दै आएकी सिर्जना भरतपुर पुगेर सोमबार प्रचण्डलाई बधाई दिएकी हुन् । प्रचण्डले आफूलाई बधाई दिन आएकामा सिर्जनालाई धन्यवाद दिए । ‘हजुरलाई बधाई दिन पोखराबाट आएको । हजुरले जितेकामा धेरै खुसी छु’, सिर्जनाले भनिन् । जवाफमा प्रचण्डले धन्यवाद दिँदै बुहारीको सञ्चो बिसञ्चो सोधेका थिए ।
प्रकाशको निधनपछि प्रचण्ड निवास लाजिम्पाट गएकी सिर्जना धेरै दिन त्यहाँ बसिनन् । सिर्जनातिरका प्रकाश पुत्र प्रसिद्धलाई भने प्रचण्ड परिवारले आफैंसँग राखेको छ । चुनावभरि प्रसिद्ध हजुरबुबाबा साथ रहे । अब पनि उनलाई आफैंसँग राख्ने प्रचण्डले बताए । ‘बाबु (नाति) अब हामीसँगै बस्छ । हामी काठमाण्डु आउँदा सँगै आउँछ’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।