नेपालको तीन ओटै चुनाव सम्पन्न भएसँगै अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति

नेपालको तीन ओटै चुनाव सम्पन्न भएसँगै अमेरिकाले निकाल्यो यस्तो विज्ञप्ति
समाचार

संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकामा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकामा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ ।

“स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ”, नेपालको निर्वाचन समापन भएपछि नेपालस्थित अमेरिकी राजदूतावासद्वारा शुक्रबार जारी वक्तव्यमा भनिएको छ ।

पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षित र सुव्यवस्थित वातावरण बनाउनमा असंख्यौँ सरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिको अथक प्रयास र योगदान प्रशंसनीय रहेको जनाउँदै विज्ञप्तिमा नयाँ सरकारसँग सहकार्य गर्न उत्सुकतापूर्वक प्रतीक्षारत रहेको उल्लेख छ ।

मुलुकको पूर्ण सम्भावना हासिल गर्ने दिशामा अघि बढ्नका लागि नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी र जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहका नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएकामा जोड दिँदै आफ्नो सहभागिता कायम राख्दै र निर्वाचित जनप्रतिनिधिलाई पूर्णरूपमा जवाफदेही बनाउँदै आफ्नो नागरिक कर्तव्यलाई निरन्तरता दिन नेपालीसँग आग्रह गरिएको छ ।

Post Comment