डोनाल्ड ट्रम्प र किम जोङ उनबीच यतिबेला वाकयुद्ध चलिरहेको छ । दुवैले एकअर्कालाई बटन दबाएको भरमा परमाणु हमला गर्न सक्ने धम्की दिइरहेका छन् ।
ट्वीटरमा छेडिएको यो ‘बटन युद्ध’ बीच के वास्तवमै एउटा बटन दबाउने बित्तिकै परमाणु हतियार लञ्च हुन्छ त भन्ने जान्न जरुरी हुन्छ । यदी यस्तो हो भने के वास्तवमै
ट्रम्पसँग परमाणु बटन रहेको छ त ?
सबैले जान्न जरुरी छ, परमाणु हतियार लञ्च गर्नु भनेको बटन दबाएर टिभीको च्यानल बदल्ने जस्तो सजिलो काम होइन । यो प्रक्रिया निकै जटिल हुन्छ ।
रोचक कुरा, यसमा ‘विस्कुट’ र ‘फुटबल’ पनि शामिल छ ।
अर्थात् ‘परमाणु बटन’ चलनचल्तीमा रहेको शब्द भए पनि ट्रम्पले मात्र एउटा बटन दबाएर परमाणु हतियार चलाउन सक्दैनन् ।
त्यसो भए ट्रम्पसँग के छ ?
पछिल्लो जनवरी २० मा डोनाल्ड ट्रम्पको सपथग्रहण कार्यक्रममा पूर्व राष्ट्रपति बाराक ओबामासँगै सेनाका एक अधिकारी छालाको ब्रिफकेससँग उपस्थित थिए ।
शपथ लिने बित्तिकै ती सैनिक ब्रिफकेससहित ट्रम्पसँग हिँडे ।
उक्त ब्रिफकेसलाई ‘न्युक्लियर फुटबल’ भनिन्छ । परमाणु हतियार फायर गर्न यस फुटबलको आवश्यकता हुन्छ । यो न्युक्लियर फुटबल हर समय राष्ट्रपतिसँग हुन्छ ।
गत अगस्तमा सीएनएनलाई एक जानकारले भनेका थिए, ‘ट्रम्प जब गल्फ खेल्छन्, तब यो ‘फुटबल’ उनको पछिपछि सानो गाडीमा हुन्छ ।’
के हो न्युक्लियर फुटबल ?
यदी कसैले यो ‘फुटबल’ खोलेर हेर्यो भने ऊ निराश हुनसक्छ । किभने फुटबलमा न कुनै बटन छ न त चलचित्र आर्मागेडन जस्तै कुनै घडी नै छ ।
यस फुटबलभित्र सञ्चारको साधन हुन्छ र केही किताब हुन्छ जसमा युद्धको तयार योजना हुन्छ । यस योजनाको मद्दतबाट तुरुन्त कुनै फैसला लिन सजिलो हुन्छ ।
विस्कुट के हो त ?
विस्कुट भनेको एउटा कार्ड हो जसमा कोड हुन्छ । अमेरिकाका राष्ट्रपति हरसमय यो कोड आफूसँग राख्छन् । यो फुटबलभन्दा फरक हुन्छ ।
यदी राष्ट्रपतिलाई परमाणु हमला गर्ने आदेश दिनुपर्यो भने उनले यो कोड प्रयोग गरेर सेनालाई आफ्नो पहिचान बताउँछन् ।
राष्ट्रपतिको पद सम्हालेपछि एबीसीले डोनाल्ड ट्रम्पसँग सोधेको थियो, ‘विस्कुट पाएपछि तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’
ट्रम्पले जवाफ दिएका थिए, ‘जब उनीहरुले विस्कुट के हो भन्ने बारे बताउँछन्, यसबाट कस्तो तबाही हुन सक्छ भन्ने जानकारी दिन्छन्, यसको गम्भीरता बुझिन्छ । यो निकै डरलाग्दो छ ।’
पूर्व राष्ट्रपति बिल क्लिन्टनका पूर्व सैन्य सहयोगी रोबर्ट बज प्याटरसनका अनुसार बिलले एक पटक यो कोड हराएका थिए ।
प्याटरसनका अनुसार बिल यो विस्कुटलाई आफ्नो क्रेटिड कार्डसँग रबर ब्याण्डसँग बाँधेर पेन्टको गोजीमा राख्थे ।
प्याटरसनका अनुसार मोनिका लेवेन्सीसँग भएको घटनाको बिहान क्लिन्टनलाई होसै भएन उनले कोड कहाँ राखे ।
सेनाका एक अर्का अधिकारी ह्यू शेल्टनका अनुसार राष्ट्रपति क्लिन्टन महिनौँसम्म आफ्नो कोड भुल्थे ।
अमेरिकी राष्ट्रपतिले कसरी लञ्च गर्छन् परमाणु हतियार ?
मात्र राष्ट्रपति परमाणु हतियार लञ्च गर्न सक्छन् । कोडबाट सेनालाई आफ्नो पहिचान बताएपछि राष्ट्रपति जोइन्ट चिफ अफ स्टाफका चेयरम्यानलाई आदेश दिन्छन् । चेयरम्यान अमेरिकी सेनाको सबैभन्दा ठूला अधिकारी हुन्छन् ।
त्यसपछि यो आदेश नब्रास्काको अफ्ट एयरबेसमा बनेको स्ट्राटेजिक कमान्डको मुख्यालयमा पुग्छ । त्यहाँबाट आदेश ग्राउण्ड टिमलाई पठाइन्छ । (यो समुद्रभित्र पनि हुनसक्छ ।)
परमाणु हतियारको फायर खोल्न आदेश कोडबाट पठाइन्छ । यो कोड लञ्च टिमसँग राखिएको सुरक्षित कोडसँग मेल खानुपर्छ । मेल खाए मात्र परमाणु हतियार फायर गरिन्छ ।
के राष्ट्रपतिको आदेश नकार्न सकिन्छ ?
राष्ट्रपति अमेरिकी सेनाको कमान्डर इन चिफ हुन्छन् । यानी सेनालाई उनको हरेक आदेश मान्नुपर्ने हुन्छ ।
तर, यसमा केही अपवाद पनि हुनसक्छन् ।
४० वर्षमा पहिलो पटक पछिल्लो वर्ष नोभेम्बरमा कङ्ग्रेसको कमिटीले राष्ट्रपतिको परमाणु हतियार लञ्च गर्ने अधिकारको जाँच गरेको थियो ।
यसमा सन् २०११–१३ मा अमेरिकी स्ट्राटेजिक कमाण्डको कमान्डर रहिसकेका रोबर्ट केहलर पनि शामिल थिए ।
उनले जाँच कमिटीसँग भनेका थिए कि आफू दिएको प्रशिक्षण अनुसार राष्ट्रपतिको परमाणु हतियार फायर गर्ने आदेश उनी मान्छन् तर, त्यो कानूनसम्मत हुनुपर्छ ।
उनले भनेका थिए, ‘केही स्थितिमा म तयार छैन भन्न सकिन्छ ।’
एक सिनेटरले सोधेका थिए, ‘त्यसपछि के हुन्छ ?’ तब केहलरले भनेका थिए, ‘थाहा छैन ।’
यो जवाफ सुनेपछि कमिटीका सदस्यहरु हाँसेका थिए ।