नेपाली समुदायको ठुलो बस्ती रहेको टेक्सस राज्यका लागि नेपाल सरकारले नयाँ वाणिज्य दूत (कन्सुलेट) नियुक्ति प्रकृया अघि बढाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले टेक्सस राज्यमा बस्ने व्यवसायी स्टेफन पालिनलाई वाणिज्य दूत वनाउनका लागि प्रकृया अघि बढाएको हो । उनको फाइल अहिले स्वीकृतिका लागि अमेरिकाको विदेश मन्त्रालयमा पुगेको सम्बद्ध स्रोतले बताएको छ ।
केही अघि सरकारले ड्यालसका एक नेपालीलाई वाणिज्य दूत बनाउने प्रकृया अगाडी बढाएको थियो । तर, अमेरिकाको विदेश मन्त्रालयले कुनै निर्णय नगरेपछि त्यहीका विदेशीको प्रकृया अघि वढाईएको हो । वाणिज्य दूतका लागि विदेश मन्त्रालयले स्वीकृत दिनु पर्छ ।
त्यस पछि आधिकारिक रूपमा नेपाल सरकारले नियुक्त गर्छ । यदि अमेरिकाको विदेश मन्त्रालयले ९० दिनसम्म केही निर्णय दिएन भने कुटनीतिक भाषामा अस्वीकार गरेको बुझ्नु पर्छ । यस पछि अर्को ९० दिन कुर्दा पनि स्वीकृत भएर आएन भने नभएको भन्ने बुझिन्छ ।
स्टेफन अमेरिकी विदेशमन्त्री रेक्स डब्लु टिल्र्सनसंग परिचित व्यक्ति भएको बताइएको छ । उनीपनि एक्जनमोविलसंग सम्बद्ध भएको बताएको स्रोतले जनाएको छ । विदेशमन्त्री रेक्सपनि टेक्ससकै हुन र उनी एक्जनमोविलमा करिब १० वर्ष प्रमुख कार्यकारी भई २०१६ मा अवकाश लिएका थिए ।
टेक्सस नेपाली समुदायको ठुलो जनसङ्ख्या भएको राज्य हो । यहाँ नेपालीको व्यवसाय पनि ठुलो छ । टेक्ससका नेपालीले भने सरकारले आफ्नै कन्सुलेट अफिस खोल्न माग गर्दै आएका छन् ।
टेक्ससबाहेक कोलोराडोका लागि पनि वाणिज्य दूत नियुक्त गर्ने प्रकृया नेपाल सरकारले अघि बढाएको छ । कोलोराडोका एक नेपाली व्यवसायीको फाइलपनि अमेरिकाको विदेशमन्त्रालयमा पुगेको छ ।
वाणिज्य दूत अवैतनिक पद हो । नेपाल सरकार मन्त्रिपरिषदले कसलाई बनाउने नवनाउने अन्तिम निर्णय गर्छ । केही वर्ष यता अमेरिकामा विभिन्न सहरमा नेपालीलाई वाणिज्य दूत नियुक्त गरिएको छ ।
यस मध्ये स्यानडियागो सहरका लागि महावाणिज्य दूत ऋषि ढकालले कुटनीतिक मर्म अनुसार काम गर्दै आएको डिसी स्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
महावाणिज्यदुत ढकालले मासिक रूपमा आफ्नो कामको विवरण दूतावासमा पठाउने, कुनै महत्त्वपूर्ण भेटघाटका बारेमा जानकारी दिने जस्ता अभ्यास गर्दै आएका छन् । उनले नेपालको राष्ट्रिय दिवस मनाउन पनि डिसी दुतावाससंग स्वीकृत माग्दै पत्राचार गरेको स्रोतले बतायो ।