एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृ्त्वमा गएको एक प्रतिनिधिमण्डलले वाशिंगटन डिसी स्थित नेपाली दूतावासमा राजदूत डा.अर्जुन कार्कीलाई भेटेर नेपालीहरुलाई अमेरिकी सरकारको तर्फबाट प्राप्त टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपीएस) को म्याद थप्ने प्रक्रियाका सन्दर्भमा नेपाल सरकारका तर्फबाट आवश्यक पहलका लागि ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ। सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पश्चात मे २४, २०१५ भित्र अमेरिका प्रवेश गरिसकेका कागजपत्र बिहीन नेपालीहरुलाई प्राप्त टिपीएसको म्याद आगामी जुन २४, २०१८ मा समाप्त हुँदै छ। करीब चौध हजार नेपालीहरुले टिपीएस सुविधा प्राप्त गरेका छन् । वर्षौं नेपाल जान नपाएकाहरुले समेत यस सुविधाको प्रयोग गरी आवत-जावत गर्ने अवसर प्राप्त गरेका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष डा. पौडेलले दूरबिन नेपाललाई भने- “एनआरएनए नेपालीहरुको चासोको रुपमा रहेको टिपीएस नविकरणको पक्षमा छ। त्यसैले अमेरिकी संसदका सदस्यहरुलाई भेटेर विषयवस्तुको जानकारी गराउने देखि नेपाल सरकारलाई औपचारिक प्रक्रिया शुरु गर्न अनुरोध गर्ने उद्देश्यले नै महामहिम राजदूतलाई ज्ञापन पत्र समेत बुझाइएको हो”। “नेपाल सरकारको तर्फबाट हुने आवश्यक प्रक्रियाहरुको कुटनैतिक संयोजन महामहिम राजदूतले गर्ने विश्वास दिलाउनु भएको छ भने नेपाली समुदायका तर्फबाट जनस्तरमा गर्नुपर्ने पहलहरु एनआरएनए अमेरिकाको राष्ट्रिय समन्वय समिति र स्टेट च्याप्टरहरुले स्थानीय नेपाली संघ-संस्था र सामाजिक अगुवाहरुसंगको समन्वयमा निरन्तर गरिनै रहनेछ”, डा. पौडेलले थप प्रष्ट पार्दै भने।
यसैबीच न्यूयोर्कमा रहेको अधिकारवादी संस्था ‘अधिकार’ लगाएत अन्य सामाजिक संस्थाहरुसंगको सहकार्यमा टिपीएस नविकरणका लागि जनस्तरबाट दबाव सृजना गर्न हस्ताक्षर अभियानका लागि ‘अनलाइन पेटिशन’ समेत यही शनिवार न्यूयोर्क शहरबाट एक कार्यक्रमकाबीच शुरु गर्न लागिएको जानकारी समेत डा. पौडेलले गराए।
राजदूतसंगको भेटमा सहभागी एनआरएन अमेरिकाका एक क्षेत्रीय उपाध्यक्ष जेदु पोखरेलका अनुसार प्रमण्डलसंगको भेटमा राजदूत डा.कार्की टिपीएस नविकरण गराउन आवश्यक पहल गर्न निकै सकारात्मक देखिएका थिए। यस अघि पनि डा. कार्की कै अग्रसरतामा अमेरिकी सरकारलाई टिपीएस नविकरणका लागि पत्र पठाइएको थियो। टिपीएस नविकरणको लागि पहिलो शर्त नै सम्वन्धित देशको तर्फबाट गरिने औपचारिक अनुरोध हो। अमेरिकी सरकारलाई औपचारिक पत्र पठाउने व्यवस्था मिलाउन दूतावासले नेपाल सरकारबाट आवश्यक निर्देशन लिएर अगाडि बढ्ने जानकारी राजदूत डा. कार्कीले एनआरएनएको प्रतिनिधिमण्डललाई गराए।
फ्लोरिडाका रिपब्लिकन सांसद कर्बेलो कार्लोसले अक्टोबर ३१, २०१७ मा अमेरिकी संसदमा एक विधेयक प्रस्तुत गरेका छन्। आठ डेमोक्रेटिक र चार रिपब्लिकन साँसदहरुले समर्थन गरेको त्यो विधेयक पारित भएमा हैटी, निकारागुवा, एलसाल्भाडोर र होन्डुरसबाट अमेरिकामा टिपीएस लिएर बसेकालाई तोकिएको प्रावधान पुरा गरेको खण्डमा ग्रिन कार्ड लिन सक्ने व्यवस्था गरेको छ । नेपालीहरुको हकमा समेत त्यस्तै प्रावधान सहितको कानूनी व्यवस्थाका लागि एनआरएनए अमेरिका तथा टिपीएस नविकरणका लागि गठित नेपाली समुदायका प्रतिनिधीहरुले आ-आफ्नो स्तरबाट अमेरिकी संसदका प्रभावशाली सदस्यहरुसंग भेटघाट र आवश्यक ‘लविंग’ गर्न अधिकार लगाएतका संस्थाहरुले पहल गर्ने सहमति भएको उपाध्यक्ष पोखरेलले जानकारी गराए।
यसैबीच एनआरएनए अमेरिकाले प्रेस विज्ञप्ति जारी गर्दै राजदूत डा. अर्जुन कार्कीलाई भेटेर टिपीएस नविकरणका सन्दर्भमा ज्ञापनपत्र बुझाएको जानकारी गराएको छ।