अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित पार्ने ‘पुटिन सूची’ सार्वजनिक

अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित पार्ने ‘पुटिन सूची’ सार्वजनिक
समाचार

गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ ।

ती व्यक्तिमाथि ‘प्रतिबन्ध’ लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर, त्यो कस्तो प्रतिबन्ध हो भन्नेबारेमा भने केही बताइएको छैन ।

अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको बताइएको छ । त्यस सूचीमा ११४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन् ।

तीमध्ये सबैजसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी समूहका सदस्यहरु हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ती व्यक्तिहरुले वर्तमान राष्ट्रपतिका पक्षमा प्रभाव पार्ने काम गरेका बताइएको थियो ।

ती व्यापारीहरुको व्यापार र व्यक्तिमाथि पनि आर्थिक प्रतिबन्धहरु लगाउन सकिने भन्दै सो सूची प्रकाशन गरिएको जनाइएको छ ।

अमेरिकामा सम्पन्न सो निर्वाचनमा रुसको घुसपैठ रहेको समाचारले अमेरिकामा निकै ठूलो चर्चा पाइरहेको छ । रुसले त्यस समयका अर्का प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन चलखेल गरेको बताउँदै आइएको छ ।

तर, यस आरोपको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने खन्डन गर्दै आएका छन् । उनले आफ्नो जितका लागि रुसको प्रभाव थियो भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा छानबिन गरिरहेका अमेरिकी एफबीआईका उपनिर्देशकको राजीनामा आएकै दिन अमेरिकाले सो सूची पनि सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैं खन्डन गर्ने गरेका छन् । उनीमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो ।

Post Comment