पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । उनी आज ४ बजे भारतको उडिसा तर्फ प्रस्थान गरेका हुन् ।
शाहले उडिसास्थित पुरी मठका शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छन् । शाहलाई उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ ।
विमानस्थलमा कुरा गर्दै उनले आफ्नो भ्रमण धार्मिक भएको र शंकराचार्यको निमन्त्रणामा भारत जान लागेको बताए । उनले पात झरेपनि जरा सँधै रहिरहने बताए । ‘रुखहरु हेरौँ पात झर्छ तर जरा सँधै रहिरहन्छ’, उनले भने ।
भ्रमणको क्रममा हिन्दु धर्मका विषयमा आयोजित छलफलमा सहभागि हुने बताए । शाहले धर्म पद्धति भएको बताउँदै आजको समयमा सरल र व्यवहारिक बनाउने विषयमा छलफल हुने जानकारी दिए ।
दुई साता लामो भारत भ्रमणलाई उनले धार्मिक यात्रा भनेका छन् । उनी कोलकाता हुँदै भुवनेश्वर जाने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ ।