ओली प्रधानमन्त्री भएपछि भारतिय पत्रिका लेख्छ ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’

ओली प्रधानमन्त्री भएपछि भारतिय पत्रिका लेख्छ  ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’
समाचार

केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएपछि भारतीय पत्रिकाहरूमा धमाधम विश्लेषण आउन थालेका छन् ।

यसै क्रममा भारतबाट निस्कने अंग्रेजी पत्रिका द न्यु इन्डियन एक्सप्रेसमा रामानन्द सेनगुप्ताको बाईलाईनमा शुक्रवार एउटा विश्लेषण आएको छ ।

विश्लेषणमा भनिएको छ :

चीनपरस्त ओली सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका लागि अनि त्यही वर्ष आफूलाई सत्ताबाट बहिर्गमन गराउनका लागि भारत दोषी रहेको बताउँछन् । यतिखेर ओलीको नेकपा एमाले र पुष्पकमल दाहालको नेकपा माओवादी केन्द्रका बीच असहज गठबन्धन छ । प्रचण्ड वामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ ।

सम्बन्ध सुधार्न तथा नयाँ नेतृत्वप्रति भारतको समर्थनलाई थप सुदृढ गर्नका लागि विदेशमन्त्री सुष्मा स्वराजले फेब्रुअरीको शुरूतिर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणका क्रममा ओली र कम्युनिस्ट नेतृत्वसँग कुराकानी गरिन् ।

केही विश्लेषकहरूले ओलीले दुई ठूला छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने विश्वास राखेका भएपनि अधिकांशले भित्रभित्रै चाहिँ यसो नहुने स्वीकारेका छन् ।

‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहण गरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएको दुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ एक भारतीय कूटनीतिज्ञले बताए ।

‘सबै कुरा नियमित रूपमा चल्न सक्छ,’ सम्पादक तथा राजनीतिक विश्लेषक युवराज घिमिरे भन्छन्, ‘तर ओलीले देखिनेगरी चीनसँग निकटता बढाएकोले भारत स्वाभाविक रूपमा चिन्तित छ । भारतीय नाकाबन्दीको प्रतिशोधस्वरूप
ओली चीनसँग नजिकिएका हुन् ।’

अर्का नेपाली पत्रकारले चाहिँ ठाडै भने, ‘काठमाडौंको कुरा गर्दा अब बाईबाई दिल्ली, हेलो बेइजिङ हो । यसलाई स्वीकार्नुस् ।’

Post Comment