सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोपमा अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध आरोप लगाएको छ ।
एफबीआईका अनुसार यी रुसी नागरकिले गैरकानूनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेका थिए । यीमध्ये तीन जनाले प्रविधिको सहायताले अरुको परिचय थाहा पाउने काम गरेको एफबीआईले बताएको छ । त्यस्तै चुनावमा हस्तक्षेप गर्नेमा तीन रुसी कम्पनी पनि सामेल भएको बताइएको छ ।
चार्जशीटका अनुसार आरोपी रुसी नागरिकले आफूलाई अमेरिकी नागरिक भएको बताउँदै बैंक खाता खोलेको र राजनीतिक विज्ञापनका लागि हजारौँ डलर खर्च गर्दै अमेरिकामा राजनीतिक र्यालीको आयोजना गरेका थिए ।
त्यस्तै यीनीहरुले अमेरिकी नागरिकको नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर राजनीतिक टिकाटिप्पणीसहित पोस्ट पनि गर्ने गरेका थिए । उनीहरुले हिलारी क्लिन्टनको कदलाई सानो बनाउन हरसम्भव प्रयास गरेको बताइएको छ ।
आरोपी रुसी नागरिकले प्रति महिना १२ लाख ५० हजार डलर अमेरिकी चुनावलाई प्रभावित गर्न खर्च गरेको आरोप लागेको छ ।
ट्रम्पको सफाई
यो आरोपमा २०१४ को सुरुवातदेखि नै अमेरिकी चुनावलाई प्रभावित पार्न खोजिएको भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सफाई दिँदै ट्वीट गरेका छन्, ‘म राष्ट्रपतिको उम्म्दवार बन्नुभन्दा पहिले नै रुसले २०१४ मा अमेरिकी चुनावलाई प्रभावित गर्ने काम गरेको थियो । यसले चुनावी नतिजालाई केही असर गरेको छैन । ट्रम्प क्याम्पेनले केही गलत काम गरेको छैन ।’
रुसको प्रतिक्रिया
रुसले पनि यस बारेमा आफ्नो प्रतिक्रिया दिएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोवाले यी आरोपलाई बेतुक आरोपको संज्ञा दिएकी छिन् । उनले अमेरिकालाई प्रतिप्रश्न गर्दै सोधेकी छिन् कि १३ जनाले अमेरिकी चुनावमा हस्तक्षेप कसरी गर्न सकछन् जहाँ सुरक्षा एजेन्सीका लागि करोडौं डलर खर्च गरिएको हुन्छ ।