अमेरिका र रुसबीच डिजिटल शीतयुद्ध शुरू

अमेरिका र रुसबीच डिजिटल शीतयुद्ध शुरू
समाचार

अमेरिका र रुसबीच फेरि शीतयुद्ध शुरू भएको छ । यसपालीको शीतयुद्ध विद्युतीय अर्थात् डिजिटल छ ।

युद्धको पृष्ठभूमिका मानिस नै भएपनि एजेन्टका स्थानमा बोट (रोबोट) हरू हुनेछन् । रुसको केजीबी जासूसी संस्थाको स्थान इन्टरनेट रिसर्च एजेन्सी (आईआरए) ले लिएको छ ।

अमेरिकाको संघीय अनुसन्धान ब्यूरा एफबीआईले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भन्दै रुसका १३ नागरिक र तीन कम्पनीमाथि औपचारिक आरोप लगाएको छ । शुक्रवार विशेष अभियोजक रोबर्ट म्युलरले रुसविरुद्ध अमेरिकालाई धोकाधडी गरेको आरोप लगाएका छन् ।

अमेरिकाले प्रमुख रूपमा आईआरएमाथि आक्रमण गर्दै त्यसलाई ट्रोल फार्म भनेको छ । रुसको सेन्ट पिटर्सबर्गबाट सञ्चालित यो एजेन्सीले सामाजिक सञ्जालमा हिलारी क्लिन्टनविरुद्ध अनि डोनल्ड ट्रम्पको पक्षमा जाली पोस्टहरू गरेर चुनाव प्रभावित पारेको आरोप छ ।

अभियोगपत्रमा आईआरए एक संगठित संस्था भएको र यसको वार्षिक बजेट लाखौं डलर भएको उल्लेख छ । त्यहाँ सयौं मानिसले जागिर खाने अनि त्यहाँका कैयौं विभागले इन्टरनेटका फरक क्षेत्रमा काम गर्ने पनि लेखिएको छ । कैयौं विभागले सर्च इन्जिन अप्टिमाइजेसन र ग्राफिक्सको काम गर्ने बताइएको छ ।

अनुसन्धानकर्ताहरू आईआरएका एक सदस्यको मेलसम्म पुगे । आरोपित इरिना कावेरजिनले आफ्नो परिवारको सदस्यलाई इमेलमा लेखे, ‘मैले यी सबै तस्वीर र पोस्ट तयार पारें अनि अमेरिकीहरूलाई आफ्नै कोही मानिसले यो लेखेको जस्तो लाग्यो ।’

अमेरिकामा बस्ने रुसी नागरिकहरूले महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पको पक्षमा वातावरण तयार पारेको पनि आरोप लगाइएको छ । षड्यन्त्रकारीहरूले आईआरएलाई पठाएको एक आन्तरिक सन्देशमा त हिलारी क्लिन्टनको आलोचना गरिएका अन्लाइन कन्टेन्ट पोस्ट गर्ने कुरा पनि भएको आरोप छ ।

अमेरिकाले मस्कोमाथि आफ्नो प्रिय राष्ट्रपति उम्मेदवारलाई ह्वाइट हाउस पु–याएको आरोप लगाउँदा रुसले भने सबै आरोप खारेज गरेको छ ।

रुसका विदेशमन्त्री सर्गे लाभ्रोभले म्युनिख सेक्युरिटी कन्फेरेन्समा भने, ‘मलाई यसमा कुनै प्रतिक्रिया दिनु छैन । तपाईंले जे छापे पनि हुन्छ । यस्ता निर्णय र बयान लगातार आइरहनेछन् । कुनै पनि तथ्य बाहिर नआउन्जेल यस्ता
कुराहरू बकवास मात्र हुन् ।’

ट्रम्पले चाहिँ यसबारेमा ट्वीट गर्दै भने, ‘रुसले अमेरिकाविरोधी अभियान सन् २०१४ मा शुरू गरेका हुन् । म राष्ट्रपति चुनावमा भाग लिनुभन्दा धेरैअघिको कुरा हो यो । चुनावी परिणाममा यसको कुनै असर परेन । ट्रम्प अभियानमा
केही गलत कुरा गरिएको छैन, त्यसमा कुनै विरोधाभास छैन ।’

Post Comment