‘आक्रमण रोक्न शिक्षकलाई हतियार दिने पक्षमा राष्ट्रपति ट्रम्प ‘

‘आक्रमण रोक्न शिक्षकलाई हतियार दिने पक्षमा राष्ट्रपति ट्रम्प ‘
समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक आतंकसम्बन्धी ह्वाइट हाउसमा भएको कार्यक्रममा विद्यालय वरपर बन्दुकमाथि प्रतिबन्ध लगाउने र शिक्षकहरूलाई हतियार राख्न दिने पक्षमा समर्थन जनाएका छन्।

उनले त्यस्तो कदमले फ्लोरिडाको विद्यालयमा १७ जनाको ज्यान लिने गरी हालै भएका आक्रमण जस्ता घटना रोक्न सक्ने पनि बताए।

गत साता फ्लोरिडास्थित एक विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल भएकाहरूले त्यस्तो घटना फेरि नहुने पक्का गर्न गरेको प्रस्तावमाथि ट्रम्पले प्रतिबद्धता जनाएका छन्।

बन्दुक किन्नेहरूको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावलाई पनि ट्रम्पले समर्थन गरे।

कार्यक्रममा विद्यार्थीहरूले ट्रम्प समक्ष आफूहरूले विद्यालयमा सुरक्षित महसुस गर्न चाहेको बताएका थिए।

एकजना शोक सन्तप्त पिताले राजनीतिज्ञहरूलाई बन्दुक नियन्त्रणबारे कुनै पहल नगरेको आरोप लगाउँदै विद्यार्थी र समुदायलाई जोगाउन कानुनको आवश्यकता रहेको बताए।

बुधबार ह्वाइट हाउसबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा ट्रम्पले गत साता गोली प्रहार भएको विद्यालयका विद्यार्थीहरूसँगको भेटमा यस्तो समर्थन जनाएका हुन्।

उनले बन्दुक किन्न आउनेहरूको मानसिक स्वास्थ्यबारे ख्याल गर्ने विषयमा पनि जोड दिने बताए।

ट्रम्पले उक्त कार्यक्रममा विद्यार्थी, उनीहरूका परिवारका सदस्य र शिक्षक गरी ४० भन्दा बढीको परिवर्तनका लागि गरिएको भावुक याचना सुनेका थिए।

उनले यसबारेमा लामो समयदेखि बहस भएको र थुप्रै घटना पनि भइसकेको तर अब चाहिँ विगतमा जस्तो कुरा मात्रै नहुने त्यसलाई गरेरै देखाउने प्रतिबद्धता जनाए।

उक्त गोली प्रकरणमै बाँचेका अन्यले भने फ्लोरिडाका सांसदहरूलाई स्वचालित बन्दुकको बिक्रीलाई नियन्त्रण गर्ने विषयमा कदम चाल्न पैरवी गरेका छन्।

Post Comment